सरकारी सवारी साधनको दुरुपयोग

Posted on: 15 Apr, 2019

सुलोचना महता | बैशाख २, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको छ । मार्मा गाउँपालिकाको पशु शाखा प्रमुख नन्दन ठगुन्नालाई साविकको जिल्ला पशु कार्यालयले २०७५ भाद्र महिनामा सरकारी कामकाज सहजताको लागि दिएको बा २ ब २२७७ नम्बरको मोटरसाइकल निजको भाइ दिलिप सिँह ठगुन्नाले घरायसी काममा प्रयोग गरि सरकारी सवारी साधनको दुरुपयोग गरेको पाइएको हो । 

हाल मार्मा गाउँपालिकाका सम्बन्धीत निकायका कर्मचारीले सरकारी मोटरसाइकलको प्रयोग गर्न नपाउँदा गाउँगाउँ हिडेर नै जानुपर्ने बाध्यता रहेको एक कर्मचारीले बताउनु भयो । एक कर्मचारीले भने,‘ मार्मा गाउँपालिका अध्यक्षसँग राम्रो सम्बन्धले गर्दा पशु सेवा प्रमुखको भाइ दिलिपले सरकारी मोटरसाइकलको दुरुपयोग गरेको हो ।’


मार्मा गाउँपालिकाको मोटरसाइकल हाल आफन्त देखि नातेदार सम्मका सबैले प्रयोग तथा गाउँपालिकाका सम्बन्धीत व्यक्तिलाई सरकारी सवारी साधनको दुरुपयोग भएको बारम्बार ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नदेखाएको एक कर्मचारीले गुनासो गरेका छन् । त्यस्तै शाखा प्रमुखको भाईले रातदिन घर बनाउने समान ल्याउने देखि लिएर अन्य घरयासी काममा सरकारी मोटरसाइकलको दुरुपयोग गरेको प्रत्यक्ष देखेको मार्मा गाउँपालिकाका स्थानीय धिरज विष्टले बताए ।

सरकारी सवारी साधनको दुरुपयोग भयो भनि गुनासो आएपछि पशु शाखा प्रमुखलाई मोटरसाइकल घरमा नराख्नका लागि निर्देशन दिएको भएको नमानेको मार्मा गाउँपालिका प्रशासकिय अधिकृत तारानाथ पनेरुले बताए । शाखा प्रमुखको घर सिमार हुदाँ बिहानबेलुकी आवतजावत गर्ने मार्मा गाउँपालिका अध्यक्ष जमनसिँह धामीले बताउनु भयो । मार्मा गाउँपालिकासँग चारवटा मोटरसाइकल रहेको दिनका लागि नपुग्ने हुदाँ आवश्यकता अनुसार सरकारी कर्मचारीहरुले प्रयोग गर्ने मार्मा गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो ।

मार्मा गाउँपालिका पशु शाखा प्रमुखको भाईले गरेको सरकारी सवारी साधनको दुरुपयोगका बारेमा बुझेर आवश्यक कारबाही गरीने प्रमुख जिल्ला अधिकारी शंकर सिँह विष्टले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!