बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पुर्याएको क्षतिका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण

Posted on: 16 Apr, 2019

वैशाख ३, गल्कोट । प्रदेशसभा सदस्यद्वय इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोटसहित बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षतिका बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराउनुभएको छ । 

बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वयले बाढी तथा वर्षाका कारण भएको क्षति तथा राहतका विषयमा आज मुख्यमन्त्री निवासमा पुगेर उहाँलाई ध्यानाकर्षण  गराउनुभएको हो । 

सो अवसरमा मुख्यमन्त्री गुरुङले बाढीपीडितको उचित व्यवस्थापनका लागि राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको सदस्य सापकोटाले राससलाई बताउनुभयो । 

प्रदेशसभा सदस्यद्वयले बागलुङको गल्कोट, काठेलाखोला र जैमिनीमा भएको प्राकृतिक विपत्तिका बारेमा जानकारी गराउँदै क्षतिको विवरणका आधारमा राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्नुभयो । आइतबार दिउँसो परेको भीषण बाढी र असिना पानीले गल्कोटसहित जिल्लाका विभिन्न सस्थानमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण गल्कोट क्षेत्रमा करिब रु पाँच करोडको नोक्सानी भएको छ । 

वर्षा पछिको बाढीका कारण गल्कोटको दुदिलाभाटीस्थित गौदिखोला लघुजलविद्युत पहिलो, दोस्रो र चांैथो आयोजनामा क्षति पु¥याउँदा विद्युत् सेवा अवरुद्ध बनेको छ भने दुदिलाभाटीका स्थानीय ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । बाढीबाट एक दर्जन गोठ तथा घरमा आंशिक क्षति  पु¥याएको गल्कोट नगरपालिकाले जनाएको छ । 

बाढीका कारण दुदिलाभाटीका खेतीयोग्य जमीन बगरमा परिणत भएका छन् । गल्कोट नगरपालिकाले बाढीपीडितका लागि राहतकोष स्थापना गरेर सहयोग गर्ने घोषणा गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!