धुलो र धुवाँले सस्थानीय बासिन्दा आक्रोशित

Posted on: 19 Apr, 2019

वैशाख ६, धनगढी | धनगढीमा निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडकमा फैलिने धुलो र धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सडक आसपासका बासिन्दा  आक्रोेशित भएका छन् । सडकबाट उडेको धुलोले छेउछाउका पसल र घरमा बस्नै कठिन भएकाले धनगढी उपमहानगरपालिका–२, ३, १३ लगायतका बासिन्दा  वडाका स्थानीयवासी आक्रोेशित भएका हुन् । हिजोआज धनगढीमा गर्मी बढेसँगै दिउँसो र साँझपख चल्ने हावाहुरी र सडकमा सवारी गुड्दा उड्ने धुवाँधुलोले उनीहरूलाई झन हैरान  बनाएको छ ।

निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको उदासीनताका कारण सडकमा उडेको धुलोले स्वास्थ्यमा प्रतिकूल असर पर्नाका साथै पसलमा राखिएका सामानसमेत बिग्रिएर ग्राहक पसलमा नआउने गरेको उपमहानगरपालिका–२ का साइकल व्यापारी गणेशप्रसाद भट्टको गुनासो थियो । उहाँले भन्नुभयो, “सडकको धुलोले स्वस्थ व्यक्ति पनि बिरामी भएको छ, धुलोले श्वासप्रश्वासमा समस्या भएकाले म स्वयम् पनि मेडिकल धाइरहेको छु ।”


निर्माण कम्पनीले सडकमा दैनिक तीन पटकसम्म पानी हाल्ने सहमति जनाए पनि अटेरी गरेको सर्वसाधारणको आरोप छ तर निर्माण कम्पनीले भने सहमति कार्यान्वयनमा रहेको जनाएको छ । निर्माण कार्य शुरु भएको लामो समय बितिसक्दा पनि हालसम्म थोरै मात्र काम भएको गुनासो गर्दै सो उमहानगरपालिका–१३ का व्यापारी चुन्नुराम चौधरीले भन्नुभयो, “नेपालको कानून दैवले जानून्जस्तै  भएको छ अझैसम्म समयमै काम नसिध्याउने  र लापरवाही गर्ने ठेकेदार र निर्माण कम्पनीलाई कार्वाहीको दायरामा ल्याइएको छैन ।” सडकमा धुलो धुवाँका कारण वारिको मान्छे पारि र पारिको मान्छे वारि नदेखिने अवस्था छ । निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडक निर्माणको सम्झौता अवधि सकिन करीब एक महीना मात्रै बाँकी रहँदा निर्माणको काम भने केही मात्र भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!