भेरी–बबई आयोजना: लाभका विषयमा प्रदेश सरकारले मुख खोल्यो

Posted on: 19 Apr, 2019

बैशाख ६, सुर्खेत । सुर्खेतमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको लाभका विषयमा प्रदेश सरकारले मुख खोलेको छ । बैशाख ३ गते सुरुङ निर्माण सकिएको आयोजनाको लाभका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्पष्ट पार्न सकेनन् । जसले भेरीगंगा, लेकवेशी र गुर्भाकोट नगरपालिकाका नागरिकहरु निराश छन् ।


नेपालमै पहिलो पटक मानवरहित मेशिनबाट सुरुङ खनेपछि यो आयोजनाले वाइवाइ पाएको छ । तर प्रधानमन्त्री ओलीले आयोजना प्रभावितका समस्या र लाभका विषयमा समान्तर अभिव्यक्ति नदिँदा नागरिकहरु निराश बनेका छन् । कतिपयले आयोजनाको भविष्य बारे अन्यौलता उत्पन्न हुने खतरा रहेको औंल्याउन थालेका छन् । नागरिकका जत्ति पीडा छन् उत्तिकै पीडा प्रदेश सरकार रहेको भाव प्रकट भएको छ । गोरखापत्र दैनिकले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले लाभका विषयमा प्रदेश सरकार गम्भीर भएको बताए । ‘आयोजना बन्नु गौरवको विषय हो । यसले सुरुङ युगको थालनी गरेको छ’ ज्वालाले भने, ‘आयोजनाबाट हुने लाभका विषयमा सिँचाई मन्त्रीलाई गम्भीर भइदिन आग्रह गरिरहेको छु ।’ प्रदेश पाँचका बाँके र बर्दियाले सिँचाई सुविधा पुग्नु राम्रो भएको भन्दै मन्त्री ज्वालाले आयोजनाबाट उत्पादन हुने विद्युत कर्णालीलाई दिलाउन पहली प्रयासको सुरुवात भएको संकेत गरे । ‘स्पष्ट अधिकारविनै प्रदेश सरकारले पीडै पीडामा काम गर्नु परेको छ’ ज्वालाले थपे, ‘आयोजना पनि बन्नुपर्छ त्यसबाट प्रभावितले राहत पनि पाउनुपर्छ । बारम्बार सिँचाई मन्त्रीलाई यो विषयलाई हल्का रुपमा नलिन अनुरोध गर्दै आएको छु ।’ पानी लिनुस् विद्युत दिनुहोस् भन्ने प्रदेश सरकारको अडान राखेको ज्वालाले बताए । उनले भेरी नदीमा बाँध बाँधेपछि प्रभावित हुने लेकवेशी, गुर्भाकोट र भेरीगंगाका नागरिकहरुलाई तत्काल लालपूर्जासहित क्षतीपूर्ति दिनमा केन्द्र सरकार गम्भीर हुन आग्रह गरेको जानकारी दिए ।

मन्त्री ज्वालाले भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनामा प्रयोग भएको सुरुङ खन्ने मेशीन कर्णालीमै प्रयोग गर्न अनुरोध गरिएको उल्लेख गरे । मन्त्री ज्वालाकाअनुसार कर्णाली नदीको पानी वीरेन्द्रनगर ल्याउने आयोजना तल्लोडुंगेश्वर–वीरेन्द्रनगर सञ्चालन गर्न माग राखिएको छ ।

‘कर्णालीका खास तथ्य उजागर गरौं’

गोरखा पत्र दैनिकले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले कर्णालीको संस्कृतिलाई उजागर गर्न आग्रह गरेका छन् । उनले कर्णाली भौगोलिक रुपमा विकट मात्रै नभई त्यो भित्र प्राचिन कला, संस्कृती, धर्म लगायतका विषयहरु लुकेर रहेकाले ति सवालहरुलाई माथि उठाउन आग्रह गरे । मिडियाले जनता र सरकारविच पुलको काम गर्नुपर्नेमा कता कता सत्य मार्दै अघि बढेको ज्वालाको चिन्ता थियो । सत्य चिज खोतल्नु मिडियाको काम भएपनि त्यो आजभोलीको मिडियामा हराउँदै गएको टिप्पणि गरे । ‘सरकारको आलोचना गर्नु मिडियोको काम हो तर कहिले काहीँ सत्य नै मेटाएर लेख्ने काम गलत हो’ ज्वालाले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!