डडेल्धुरामा जन्ती बोकेको जीप दुर्घटना

Posted on: 23 Apr, 2019

वैशाख १०, डडेल्धुरा (रासस) | डडेल्धुराको अजयमेरुमा जन्ती बोकेको जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका–६ बलाना आइरहेको म१ज ६४४ नंको बलेरो जीप बलना भन्ने स्थानमा आज बेलुकी दुर्घटना हुँदा नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते नौ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भीर घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ बलनाका २० वर्षीय मदनराज पनेरु, सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु र कञ्चनपुरको बेतकोट नगरपालिका–१० का ३५ वर्षीय मदन कलौनी रहेको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

अन्य घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ का २२ वर्षीय अशोक पनेरु, सोही ठाउँका २३ वर्षीय कृष्णदत्त पनेरु, ४५ वर्षीय रामत्तद जोशी, वर्षीय २५ सिद्धराज पनेरु, २१ वर्षीय मुकेश पनेरु र ४६ वर्षीय लक्ष्मीदत्त पनेरु रहेका छन् ।

प्रहरीका अनुसार मोडमा जीप ब्याक गर्ने बेला सडकबाट करीब ५० मिटर तल खसेको हो । दुघर्टनामा परी घाइते भएकालाई उपचारका लागि अजयमेरु गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याइरहेका घटनास्थल पुगेका प्रहरीले जनाएका छन् । दुलहादुहली अर्को गाडीमा रहेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!