खोटाङमा २ हजार ३ सय ४८ लाभग्राहीले लिए तेश्रो किस्ता

Posted on: 25 Apr, 2019

चिसाङ शेर्पा | बैशाख १२, खोटाङ | भूकम्प गएको चार वर्ष वित्दा खोटाङमा २ हजार ३ सय ४८ लाभग्राहीले मात्रै तेश्रो किस्ता पाएका छन् । २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पमा आफ्नो भौतिक संरचना गुमाएका जम्मा ८ हजार ४ सय ४३ लाभग्राहीमध्ये उक्त संख्याका लाभग्राहीहरुले सरकारले दिने अनुदान वापतको अन्तिम तेश्रो किस्ता गरी (तीन लाख) पाएका हुन् । 

रोजगार कोषको सचिवालय हेल्भेटास, पुननिर्माणको लागि सीप परियोजनाले भूकम्प पश्चात पुननिर्माण सम्वन्धि बिहीवार दिक्तेलमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रथम किस्ता (५० हजार) ८ हजार ३ सय २४ र दोश्रो किस्ता (१ लाख ५० हजार) ५ हजार ३ सय २८ लाभग्राहीले लिएको जानकारी दिएको छ । जम्मा लाभग्राही मध्येमा १ सय १२ जना लाभग्राहीले अहिलेसम्म सम्झौता नै गरेका छैनन् ।


लाभग्राहीको सुचिमा रहे पनि एकभन्दा बढी घर भएका र यथास्थानमा बस्दै नबस्ने मनासय भएका लाभग्राहीले सम्झौता नगरेको पाइएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई दिक्तेलका प्रमुख सागर आचार्यले बताए । यद्यपी, कतीपयले डिजाईन गरेका घर वस्नलाई उपर्युक्त नभएकाले पनि सम्झौता नगरेको बताएका छन् ।

यस्तै, प्रवलीकरण (साधारण मर्मततर्फ) २ सय ५३ लाभग्राहीमा सबैले सम्झौता गरेर १ सय ८० लाभग्राहीले पहिलो किस्ता (५० हजार) पाइसकेका छन् । सामान्य मर्मतलाई सरकारले १ लाख अनुदान दिइरहेको छ । ७ हजार ५ सय ७५ वटा दर्ता भएका गुनासोमा १ सय २९ वटा गुनासो फछ्र्यौट भएको ईन्जिनियर धर्मेन्द्र कुमार झाले बताए । पुर्व क्षतितर्फ २१ र आंशिक क्षतितर्फ १०८ वटा गुनासो फछ्र्यौट भएका छन् । मापदण्ड पुरा गरी सिफारिस नआएका कारण तेश्रो किस्ता अनुदान दिन नसकिएको प्राधिकरणले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!