कर्णालीका ४ स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण

Posted on: 25 Apr, 2019

बैशाख १२, सुर्खेत । कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा मात्र पूर्ण विद्युतीकरण भएको र अन्य स्थानीय तहले वैकल्पिक व्यवस्था अपनाउनु पर्ने बाध्यता रहेको एक तथ्याङ्कले देखाएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार कर्णालीमा सौर्य उर्जा र साना जलविद्युत आयोजना सञ्चालनबाट कर्णालीमा विद्युतीकरण गर्न सकिने देखाएको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले बताए । अधिकांश जिल्लाहरु विद्युतको केन्द्रीय प्रशारण लाईन नपुगेको कर्णालीमा साना जलविद्युत आयोजना प्रभावकारी हुन सक्ने एक अध्ययनले देखाएको छ ।

कर्णालीमा विद्युतीकरणका लागि वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले ४ हजार ४ सय ५ किलोवाट क्षमताको साना जलविद्युत आयोजनाबाट कर्णालीका ४५ हजार घरधुरीमा विद्युत सुविधा पु¥याएको र पाँच हजार किलोवाट बढीका विभिन्न साना जलविद्युत आयोजनाहरु सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका आयोजना सम्पन्न भए पनि कर्णालीका थप ४५ हजार २२ घरधुरी लामभान्वित हुने केन्द्रले जनाएको छ ।

केन्द्रले आगामी ४ बर्षमा कर्णालीमा ५ हजार २ सय ९८ किलोवाटका विभिन्न जलविद्युत आयोजना सञ्चालनको लक्ष्य बनाएको जनाएको छ । लक्षित आयोजना सञ्चालन पछि कर्णालीका २७ हजार २ सय घरधुरी लाभान्वित हुने जनाइएको छ । कर्णालीमा ५ सय ७४ किलोवाट क्षमताको वायु सौर्य मिनी ग्रिड परियोजना पनि सञ्चालन गरिएको छ । जुम्लामा ३, कालिकोटमा २, सुर्खेतमा २, मुगुमा १ र डोल्पामा १ गरी ९ वटा ग्रिड परियोजना सञ्चालन भईरहेको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।

जलविद्युतभन्दा सौर्य उर्जाको लागत कम

राष्ट्रिय योजना आयोगले सन् २०२२ सम्म सबै स्थानीय तहमा ५ सय देखि १ हजार किलोवाटसम्मको विद्युतीकरण गर्ने योजना अन्तर्गत कर्णालीमा  ४३.१३ मेगावाट जलविद्युत उत्पादनको क्षमता रहेको र त्यसका लागि १५ अरब ८२ करोड लागत अनुमान गरिएको छ । तर ३३ मेगावाट सौर्य आयोजनाको क्षमता भएकोमा त्यसका लागि ५ अर्ब ५१ करोड र शुन्य दशमलव ३ मेगावाट जैविक आयोजनामा ९ करोड ६९ लाख लागत लाग्ने अनुमान वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले गरेको छ । कर्णालीमा जलविद्युत उत्पादनका लागि प्रतिकिलोवाट ३ लाख ६६ हजार, सौर्य उर्जा उत्पादन प्रतिकिलोवाट १ लाख ६७ हजार र जैविक उर्जाका लागि प्रतिकिलोवाट २ लाख ९० हजार लागत लाग्ने अनुमान गरिएको छ ।

९५ प्रतशित घरधुरीमा दाउरा प्रयोग

कर्णालीका २२ प्रतिशत घरधुरीले आधुनिक उर्जा प्रयोग गर्नु परेको र ९५ प्रतिशत घरधुरीमा अहिले पनि खाना पकाउन परम्परागत दाउरामा निर्भर हुनु परेको छ । नेपालमा ९ सय ९० मेगावाट विद्युत उत्पादन भई रहेको बेला कर्णालीमा जलविद्युत उत्पादन शुन्य प्रतिशत रहेको अधिकारीले बताए । ‘कर्णालीमा परम्परागत दाउराको प्रयोग अहिले पनि अत्यधिक छ’ उनले भने, ‘सबै ठाउँमा विद्युतीकरणका लागि बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले कर्णालीमा शिक्षा र स्वास्थ्यका लागि उज्यालो कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।’ त्यसका लागि हरेक बस्ती उर्जा बस्तीको अवधारणमा काम भइरहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!