महोत्तरीमा खानेपानीको अभाव

Posted on: 26 Apr, 2019

वैशाख १३, महोत्तरी (रासस) |  गाउँमै निर्माण भइसकेको ओभरहेड ट्याङ्की सञ्चालनमा नआएपछि महोत्तरीको पशुपतिनगरमा खानेपानीको समस्या भएको छ । बर्दिवास नगरपालिका–९ स्थित पशुपतिनगरमा सुलभरुपमा खानेपानी वितरणका लागि करीब दुई वर्ष अगाडिनै निर्माणकार्य सम्पन्न भए पनि आन्तरिक विवादका कारण घरघरमा पानी पुग्न नसकेको स्थानीयले बताएका छन् । 

वैशाखजस्तो सुक्खायाममा पानीको मुहान सुकेपछि स्थानीयबासी पानीका लागि व्याकुल भएका स्थानीय सञ्चारकर्मी अमृतकुमार महतोले बताउनुभयो । अहिले इनारमा पानी आउँदैन, जसका कारण पानी अभावले सबैभन्दा गृहिणीलाई समस्या भएको महतोले जनाउनुभयो । 

विसं २०६८ मै स्थानीय जगदेव महतोले गाउँमै ओभरहेड ट्याङ्की निर्माणका लागि निःशुल्क तीन कट्ठा जग्गादान गरेका थिए । गाउँलेले शुद्ध पानी सुलभरुपमा पाउनुपर्छ भन्ने उद्देश्यले महतोले रु २१ लाख मूल्य बराबरको घडेरीनै पानी ट्याङ्की निर्माणका लागि दिनुभयो । उपभोक्ता समितिको आन्तरिक विवादका कारण आफूले जग्गादान गरेको वर्षौं बितिसक्दा समेत सोको उपलब्धि हासिल हुन नसकेको जग्गादाता महतोले गुनासो पोख्नुभयो । गाउँमा पानीको हाहाकार हुँदा पिउने पानीका लागि कसैले भौँतारिनुपर्ने स्थितिको अन्त्य गर्न र जीवनको उतरार्धमा पुण्य कमाउन आफूले जग्गादान गरेको तर त्यसको लाभ जनताले लिन नसकेकामा महतोले चिन्ता व्यक्त गर्नुभयो । 

उपभोक्ता समितिभित्रको विवादका कारण स्थानीयले खानेपानी पाउन नसकेको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष सञ्जय महतोले स्वीकार गर्नुभयो । डिप बोरिङ, ओभरहेड ट्याङ्क, मुख्य पाइपलाइनको काम भइसकेको छ । शाखा पाइपलाइन विस्तार, बोरिङमा मोटर जडान र विद्युत्को मिटर जडानको काम पूरा हुन बाँकी छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं २ जलेश्वर महोत्तरीका इञ्जिनीयर सुरेन्द्र शर्माका अनुसार समितिले काम गर्न नसक्दा रु २५ लाख कार्यालयको खातामा थन्किएको छ । “काम गरेर बिल भर्पाई पेश गरे तुरुन्त भुक्तानी हुनेछ तर, समितिले न काम गरेको छ न त कार्यालयलाई काम गराउन उपभोक्ता समितिले लिखित निर्णय गरेर दिएको छ”, उहाँले भन्नुभयो । 

बर्दिबास नगरपालिका–९ का अध्यक्ष टेकवीर रखालले विवाद साम्य पारी स्थानीयको घरघरमा धाराको पानी पु¥याउन कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो । खानेपानी योजना अलपत्र परेपछि पशुपतिनगरका ५८७ घरधुरीका करीब दुई हजार ९६८ जनसङ्ख्या प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!