अख्तियारद्वारा शिखर इन्सुरेन्सका दुई जना घुससहित पक्राउ

Posted on: 26 Apr, 2019

वैशाख १३, वीरगञ्ज (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले आज वीरगञ्जको प्रतीमा चोक नजिक रहेको शिखर इन्सुरेन्स कम्पनी लिमिटेडमा दुईलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले सेवाग्राहीसँग काम गराइदिने भन्दै लिएको रु ३१ हजार नगदसहित काउन्टरमा रहेका रोशन रौनियार र सुनिल यादवलाई नियन्त्रणमा लिएको हो । उक्त टोलीले सो काउन्टरमा रहेका महत्वपूर्ण कागजात नियन्त्रणमा लिनुका साथै यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिका फाइल नियन्त्रणमा लिएको जनाएको छ । 

रौनियार र यादवले गत फागुन १८ गते हुने स्काभेटरको ट्रायलमा पास गराइदिने भन्दै रु ७० हजार घुस लिएका थिए । ट्राइलमा फेल भएपछि सारुले अख्तियारमा उजुरी दिएको सो कार्यालयका निमित्त प्रमुख रामअयोधी रामले बताउनुभयो । पक्राउ गरिएका दुवैलाई बरामद भएको रकम र कागजातसहित आवश्यक कारवाहीका लागि हेटौँडा लगिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!