निर्मला हत्या प्रकरण: अनुसन्धानको बाटो भारततिर मोडियो !

Posted on: 27 Apr, 2019

बैशाख १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । २०७५ साउन १० गते हराएकी निर्मला भोलिपल्ट घर नजिकैको उखुबारीमा अर्धनग्न मृत फेला परेको थिइन् ।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा पनि वास्तविक दोषी पत्ता लगाउन नसकेपछि यतिबेला अनुसन्धानको सुई भारततिर सोझाएको छ ।

निर्मलाको घर नजिकका मान्छेहरु धेरैको संख्यामा भारत जाने भएकाले अनुसन्धान टोलीले त्यतातिर पनि शंका गरेको सीआईबीका प्रवक्ता (एसपी) सुदीप गिरीले बताए ।

‘बोर्डर नजिकै भएकाले त्यहाँका मान्छेलाई भारत जान सजिलो छ । धेरैको संख्यामा स्थानीयहरु भारत आउजाउ गर्ने गरेको पाइयो,’ एसपी गिरीले भने, ‘त्यहाँ अपराध गर्नेहरुका लागि भौगोलिक रुपमा भारत लाग्नु सुरक्षित क्षेत्र बन्न सक्ने आधार छ ।’

निर्मलाको घर नजिकैका केही मान्छेहरु घटना लगत्तै भारत गएको देखिएको पनि गिरीले बताए । 

एसपी गिरीका अनुसार पछिल्लो समय भारतबाट फर्किने करिब ६ सय जनासँग सोधपुछ गरिएको छ ।

यसअघि प्रहरीले लागुऔषध तथा दुव्र्यसनीमा परेका, पहिले अपराधिक क्रियाकलापमा संलग्न रहेका र निर्मलाको परिवारसँग रिसिईबी भएकाहरुमाथि अनुसन्धान गरेको थियो ।

राज्यले आफ्नो ठूलो मात्रमा जनशक्ति परिचालन गरेर पनि यत्रो समयसम्म हत्यारासम्म पुग्न नसकेपछि अहिले प्रहरीको अनुसन्धान भारत गएकाहरुतिर मोडिएको एसपी गिरीले संकेत गरे ।

एसपी गिरीका अनुसार प्रहरीले निर्मला घटनामा ४ दर्जनभन्दा बढीको डीएनए परीक्षण पनि गरिसकेको छ । सीआईबीको विशेष टोली कञ्चनपुरमै अनवरत रुपमा अनुसन्धानमा जुटेको छ ।

उक्त टोलीले प्रत्येक दिनको प्रगति विवरण सीआईबीको केन्द्रीय कार्यालयलाई दिने गरेको स्रोतले बताएको छ । 

यसअघि हत्या प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तीमा परिसकेका छन् ।

गृह मन्त्रलायका सहसचिव हरि मैनाली नेतृत्वको छानबिन समितिका क्रममा प्रहरीको कमजोरी देखिएपछि उनीहरू बर्खास्तीमा परेका हुन् । अन्य एक दर्जन प्रहरी निलम्बनमा परेका थिए ।

निलम्बनमा पर्ने प्रहरीमा सीआईबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठ्ठी, प्रहरी निरीक्षकहरू एकेन्द्र खड्का र गणेश सापकोटा लगायतका रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!