दाङमा आगलागीबाट १५ लाखको क्षति

Posted on: 27 Apr, 2019

वैशाख १४, लमही । दाङको गढवा गाउँपालिकाको एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । गढवा गाउँपालिका–५ मा आज खजरौटाको भगवानदास यादवको घरमा आगलागी भएको हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

आगलागीबाट रु १४ लाख ५० हजार बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएको छ । 

आगलागिबाट यादवको घर तथा नजिकै रहेको गोठ पूर्ण रुपमा क्षति भएको छ । सो अवस्थामा घरका कोहीपनि नभएकाले कुनै पनि सामानबाहिर निकाल्न नसकिएको पीडित यादवले बताउनुभयो । आगलागीबाट विदेश जान भनी बैंकबाट निकालिएको नगद पाँच लाख, गरगहना, लत्ताकपडा, खाद्यान्न, फर्निचर, काठलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

समयमै प्रहरी र नगरपालिकाको फोन नउठाउनुका साथै गर्मीको समयमा स्थानीय बासिन्दाहरु नजिक गएर आगो निभाउन नसक्ने अवस्था भएपछि घर पूर्ण रुपमा नष्ट भएको छ । लामो समयपछि प्रहरीले आफैले फोन गरेपछि आगलागी थाहा भएको केही समयमा घटनास्थलमा पुगेपनि त्यति बेलासम्म घर जलेर नष्ट भइसकेको थियो । देउखुरीको राजपुर र गढवामा प्रायः खरले छाएका घर भएकाले पनि आगलागीका जोखिमहरु बढ्ने गरेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!