बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

Posted on: 29 Apr, 2019

 वैशाख  १६, चितवन । चितवन, १६ वैशाख (रासस): भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका भएपछि सजह सुविधा दिने उद्देश्यले नयाँ विभाग शुरु गरिएको हो । उहाँका अनुसार बीमाका दैनिक ६ सय बिरामी अस्पताल आउने गरेका छन् । 

बीमा नभएका बिरामीको सङ्ख्या सातको हाराहारी हुने गरेको उहाँले बताउनुभयो । सो बहिरङ्ग सेवामा चारजना चिकित्सक रहने व्यवस्था गरिएको छ । बीमा गरेकाले अन्य विभागबाट पनि सेवा लिनसक्ने व्यवस्था गरिएको पौडेलले बताउनुभयो । 

हरेक दिन बिहान ९ बजेदेखि ३ बजेसम्म सेवा दिनसक्ने गरी बहिरङ्ग सेवा खोलिएको हो । अन्य बिरामीका लागि बिहान १० बजे बाट दिउँसो ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन गरिएको छ । अस्पतालमा सबैका लागि बिहान ९ बजे टिकट खुल्ला हुने गर्दछ । टिकट काटेलगत्तै बीमाका बिरामीले स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् ।

वैशाख महीना शुरु भएसँगै नयाँ विभाग सञ्चालनमा ल्याइएको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सरकारले हाल बीमाका बिरामीलाई प्रथम सेवा विन्दुको रूपमा प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकेकाले सरकारी अस्पतालमा बिमारीको भीड लाग्ने गरेपछि बहिरङ्ग सेवा थप गरेको बताउनुभयो । 

बीमा भएका र नभएका बिरामीलाई अन्य सबै सेवामा सँगै उपचार गरिएको पौडेलले बताउनुभयो । निःशुल्क स्वास्थ्य बीमाअन्तर्गत देशका ४२ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी सङ्ख्यामा बीमा गरेको कार्यालयले जनाएको छ  । स्वास्थ्य बीमा बोर्ड चितवनका अनुसार जिल्लामा दुई लाख भन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!