बुबा आमाको स्मृतिमा रु पाँच लाखको कोष स्थापना

Posted on: 29 Apr, 2019

 वैशाख १६, बेनी । म्याग्दी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका इञ्जिनीयर चन्द्रकुमार सुवेदीको परिवारले आफ्नो दिवङ्गत बुबा आमाको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । 

स्वर्गीय बुबा खडानन्द र आमा केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरी रु पाँच लाख राशीको अक्षयकोष स्थापना गर्नुभएको हो । 

सो कोषको ब्याज रकमबाट स्थानीय ज्ञानोदय माविमा निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, विद्यार्थीका लागि छात्रावृत्ति तथा पुरस्कारमा खर्चिने प्रावधान बनाइएको प्रतिष्ठानका सदस्य एवं विद्यालयका पूर्वप्रअ निलकण्ठ सुवेदीले जानकारी दिनुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका इञ्जिनीयर सुवेदीले निजी स्रोतबाट मावि तह सञ्चालन भएको विद्यालयको शिक्षाको गुणस्तर सुधारमा चौतर्फी सहयोग पुगोस भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताउनुभयो ।

उहाँले कोषको पूँजी विस्तारका लागिसमेत प्रतिष्ठानले समाजका अन्य सहयोग दाताहरुसंग आवश्यक समन्वय गर्ने बताउनभुयो । कोष स्थापनाकर्ता चन्द्रकुमार र सुधाकुमारी सुवेदी दम्पत्ति संरक्षक रहनुभएको सो प्रतिष्ठानका अध्यक्षमा विद्यालयका पूर्वप्रअ लक्ष्मीप्रसाद सुवेदी र सदस्य सचिवमा विद्यालयका प्रअ रहने गरी समिति गठन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको प्रतिष्ठानको उपाध्यक्षमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदेन सदस्य तथा कोषाध्यक्षमा विद्यालयका लेखापाल रहने व्यवस्था छ । त्यस्तै समितिको सदस्यमा बालकृष्ण सुवेदी, तारानाथ शर्मा, निलकण्ठ सुवेदी रहनुभएको छ । 

स्व खडानन्द सुवेदी ज्ञानोदय माविको विद्यालय व्यवस्थापन समितिको संस्थापक अध्यक्षसमेत रहनुभएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!