प्रहरीद्वारा अपहरित बालकको उद्धार, दुर्घटनामा एकको मृत्यु

Posted on: 30 Apr, 2019

बैशाख १७, सप्तरी । बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ । 

गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ । महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र यादवको बिहेमा जन्ती गएका उनका भाञ्जा लक्ष्मणको बिहे घरबाटै अपहरण भएपछि भोलेन्द्रले जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी दिएका थिए ।

बालकको सम्बन्धमा अनुसन्धान तथा खोज तलाश गर्दा बालक हराई बेपत्ता नभई अपहरण भएको पत्ता लागेपछि प्रहरी टोली परिचालित गरी भारत बिहारबाट उद्वार गरी ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

प्रहरीका अनुसार बालकको उद्धारका लागि प्रहरी उपरीक्षक विष्टकै कमाण्डमा सादा पोशाकका २३ जना प्रहरी परिचालित गरिएका थिए । अपहरणकारीलाई घेराउ गरेपछि सिबहरस्थित एक होटलमा ल्याई बालकलाई बेवारिसे अवस्थामा छाडेको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । बालकलाई उद्धार गर्नुअघि सप्तरी प्रहरीले नेपालका तीनलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (तस्बीर संलग्न छ ।)

दुर्घटनामा एकको मृत्यु

मोटरसाइकलको ठक्करले घाइते एक साइकल यात्रीको आज मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६५ प १३१ नम्बरको मोटरसाइकलको ठक्करले घाइते साइकल यात्री शम्भुनाथ नगरपालिका–८ बस्ने ६५ वर्षीय हरिहर मण्डलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका–७ स्थित भसराज मावि अगाडि पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले पछाडिबाट साइकललाई गए राति ठक्कर दिएको थियो । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!