सामाजिक सुरक्षा ऐनलाई व्यावहारिक र प्रभावकारी बनाइनुपर्ने

Posted on: 01 May, 2019

वैशाख १८, हेटौँडा  |  प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले आन्दोलनकारी शक्तिले नै अहिले राष्ट्रमा सरकार प्रमुखको नेतृत्व सम्हालेकाले मजदूरको बृहत् हितको लागि सामाजिक सुरक्षा ऐन र श्रमिक ऐनलाई व्यावहारिक, प्रभावकारी रुपमा कार्यान्वयन गर्न अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।

सभामुख श्रेष्ठले १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा नेपाल ट्रेड युनियन महासङ्घ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ मकवानपुरद्वारा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा राजनीतिक परिर्वतनले फड्को मारेकाले अब राजनीतिक कार्यकर्ता र मजदूरले आन्दोलनको नाममा ध्वंस गर्ने प्रवृत्तिलाई त्यागेर सिर्जनशील निर्माण कार्य र आर्थिक समृद्धिको लागि एकजुट हुन आह्वान गर्नुभयो ।

सो अवसरमा नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश नं ३ का सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामीले मजदूरलाई आर्थिक, सामाजिक रुपमा स्थापित गराई राष्ट्रलाई आत्मनिर्भर हुने उद्योगमा परिचालन गर्ने क्रममा व्यवस्थापनसँग सहकार्य गरेर ट्रेड युनियन महासङ्घलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै सामाजिक सुरक्षा ऐन र श्रम ऐनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्दै लैजान प्रदेश सरकारले अब नेतृत्व लिएर थप ऐन कानून ल्याउन पर्दछ भन्नुभयो ।

सो अवसरमा नेपाल ट्रेड युनियन महासङ्घका उपाध्यक्ष जय कार्की, मजदूर नेत्री बेलीमाया गोले, समाजसेवी बरुण शाह, श्याम श्रेष्ठ र ट्रेड युनियन महासङ्घ मकवानपुरका अध्यक्ष अर्जुन ढुङ्गेलले औद्योगिक क्षेत्र, प्रतिष्ठान र मझौला उद्योगमा कार्यरत मजदूरलाई उनीहरुको वृतिविकासको लागि स्थानीय निकाय र  प्रदेश सरकारको सम्बन्धित निकायको सहयोग सद्भाव आवश्यक रहेको छ  भन्नुभयो ।

अन्तर्राष्ट्रिय मई दिवस मनाउने क्रममा स्थानीय हुप्राचौरबाट निस्केको बृहत् ¥यालीले हेटौँडा बजारको आज परिक्रममा गरी स्थानीय बुद्धचोकमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!