कमाएर घर बनाउँदै मुक्त कमलरी

Posted on: 01 May, 2019

बैशाख १८, कञ्चनपुर । मुलुकको व्यवस्था परिवर्तन भएसँगै हातमा सीप भएका मुक्त कमलरीको पनि जीवन फेरिएको छ । 

बुबाले साहुबाट लिएको रु ३०० ऋण तिर्न करीब एक वर्ष यहाँस्थित भाषी भन्ने ठाउँमा कमलरी बसेकी कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरकी २४ वर्षीया मुक्त कमलरी पुष्पा डगौरा यतिबेला परिवार हाक्ने अब्बल महिला सावित भएकी छन् ।   

‘भाषी र काठमाडौँ गरी ११ वर्ष कमलरी बसें,’ उनले भनिन्, ‘कमलरीबाट मुक्त भएपछि दातामार्फत् गरिएको नास्ता बनाउने तालीमले जीवनमा धेरै परिर्वतन ल्यायो ।’

मुक्त कमलरी विकास मञ्चलाई सहयोग गर्दै आएको नेपाल युथ फाण्डेशन नेपालले नेपालगञ्जमा २० दिन नास्ता बनाउने तालीम लिएपछि यहाँस्थित लालपुरमा ठेलामा नास्ता बनाएर व्यापार गर्दै आएकी डगौरा हिजोआज नास्ताबाटै दैनिक रु दुई हजार देखि दुई हजार ५०० सम्म आम्दानी हुने गरेको बताउँछिन् । 

‘आम्दानी भएको रकममध्ये करीब ६० प्रतिशत मुनाफा हुन्छ ।’ उनले भनिन् ‘नास्ता पसल थापेको डेढ वर्षमै गाउँमा पक्की घर बनाउन लागेको छु ।’   

आफूले चार कोठाको घर बनाउन लागेको बताउँदै उनले श्रीमान्बाट पनि निकै सहयोग रहेको बताइन् । परिवारको आर्थिक अवस्थाका कारण सामान्य लेखपढसमेत गर्न नपाएकी डगौरा नास्ताका परिकार बनाउन र त्यसबारे जानकारी दिन भने अब्बल छिन् ।   

‘मेरो काम देखेर बेदकोट नगरपालिकाले पनि मलाई सात दिन नास्ता बनाउने तालीमको प्रशिक्षक बनायो ।’ उनले खुशी हुँदै भनिन्, ‘पढ्न नसक्ने भए पनि विषयगत ज्ञानले अरुलाई सिकाउन सक्ने भएँ ।’

नास्ता पसल थाप्नुअघि निर्वाचन ताका केही समय म्यादी प्रहरीमा समेत उनले काम गरेको अनुभव सुनाइन् ।   

‘यति चाँडै यसरी अरुको घर छाडेर आफ्नै काममा व्यस्त भइएला भन्ने सोचेको नी थिएन’ उनले भनिन्, ‘हातमा सीप भए बेरोजगार रहनु पर्दैन ।’

डगौराले सरकारसित मुक्त कमलरीका छोराछोरीका लागि शिक्षाको उचित व्यवस्था गर्नुपर्ने माग गरिन् ।   

‘अझै पनि मुक्त कमलरी किशोरीले शैक्षिक सामग्री पाउन सकेको अवस्था छैन ।’ उनले भनिन्, ‘मुक्त कमलरीलाई स्नातकसम्म अध्ययन निःशुल्क हुनुपर्छ ।’

त्यसैगरी बेदकोट नगरपालिका–९ लालपुर बजारमा ठेलामा नास्ता पसल सञ्चालन गरिरहेकी मुक्त कमलरी सीमा डगौरा पनि कमाएको पैसा घर निर्माणमा लगाइरहेको बताउँछिन् । 

‘बस्नलाई घरको समस्या थियो, अहिले तीन कोठे पक्की घर बनाउँदैछु,’ सीमाले भनिन्, ‘यसैको कमाइले घरको खर्चसमेत चलेको छ ।’    

मुक्त कमलरी सहकारीमा समेत आबद्ध रहेकी डगौराले सहकारीमा मासिक रु २०० बचत गर्ने गरेको सुनाइन् । 

‘हाम्रो सरकारीमा अहिले मुक्त कमलरी करीब २०१ सदस्य छन्,’ उनले भनिन्, ‘सहकारीबाट ऋण लिएर अधिकांश महिला नास्ता पसलदेखि विभिन्न आयमूलक काममा लागेका छन् ।’  

लालपुरमा रहेको एक कट्ठा जमीनमा घर बनाइरहेको बताउँदै उनले हालसम्म रु आठ लाख लगानी भइसकेको बताइन् । ‘बुबा मिस्त्री काम गर्नुहुन्छ,’ उनले भनिन्, ‘परिवारको अवस्थाले कुनै समय कमलरी बस्नुप¥यो ।’   

यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित पूर्णा उच्च माविमा १८ जना मुक्त कमलरी किशोरी हाल अध्ययनरत छन् । 

उनीहरुले आफूहरु लामो समयदेखि शैक्षिक सामग्रीको अभाव झेलिरहेको बताउँदै आएका छन् । नेपाल युथ फाउण्डेशन नेपालका परियोजना सहायक चन्द्र कुँवरले सहकारीलाई सहयोग भइरहेको बताए । 

मञ्चलाई अघि सारेर युथ फाउण्डेशन २०६५ सालदेखि मुक्त कमलरीका क्षेत्रमा काम गर्दै आएको छ ।

‘मुक्त कमलरीका लागि शिक्षा, व्यावसायिक तालीम र सहकारी गरी तीन क्षेत्रमा काम गरिरहेका छौँ,’ उनले भने, ‘पछिल्लो समय मुक्त कमलरीको जीवनमा धेरै परिवर्तन आएका तमाम उदाहरण छन् ।’

परियोजना सहायक कुँवरले कञ्चनपुरमा संस्थाको सहयोगबाट २४ जना किशोरी प्राविधिक शिक्षा हासिल गरिरहेको बताए ।   

‘मुक्त कमलरीको सशक्तीकरणका लागि सहकारी पनि निकै फलदायी हुँदैछ,’ उनले भने, ‘पश्चिमका पाँच जिल्लामा मुक्त कमलरीका ४२ वटा सहकारी छन् ।’

उनले सहकारीमा पश्चिमका छ हजारभन्दा बढी मुक्त कमलरी किशोरी आबद्ध रहेको जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!