परम्परा भन्दा उन्नत तरिकाले आलु खेती गर्दा १ सय ५० किलो बढि फल्यो

Posted on: 01 May, 2019

बैशाख १८, सल्यान । सल्यान कपुरकोट गाउँपालिकाका किसानले उन्नत कृषि प्रविधिका विषयमा आफ्नै बारिमा अध्यन गरेका छन् । कपुरकोट २ खहरेका किसानले उन्नत प्रविधिबाट खेती गर्दा कम लागतमा बढि उत्पादन लिन सकिने कुरा प्रमाणित भएपछि अव नयाँ ढंगले खेती गर्ने प्रतिवद्धता जनाए । कपुरकोट गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको जनचेतना तरकारि कृषक पाठशालामा आवद्ध २५ जना किसानले आलु खेती गरेका थिए ।


गत माघ १३ गते एक रोपनी जमिनमा किसानहरुले परमपरागत तरिकाले र उन्नत प्रविधि मार्फत आलु खेती शुरु गरेका थिए । कृषक डण्डी बस्नेतले आधा रोपनीमा पुरानो शैलीमा र आधा रोपनी जमीनमा नयाँ उन्नत तरिकाले खेती गर्दा धेरै फरक पाइएको बताइन् । उनले भनिन्, ‘उन्नत तरिकाले गरिएको खेतीबाट आलुको राम्रो फल लाग्यो र धेरै पनि फल्यो ।’

कृषि विकास शाखा कपुरकोटका प्राविधिक कमला ओलीका अनुसार परमपरागत तरिका भन्दा उन्नत प्रविधिबाट खेती गर्दा एक सय ५० किलो बढि आलु उत्पादन भएको छ । बुधबार खहरेमा पाठशालाको समापन कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै उनले उन्नत तरिकाले आधा रोपनी जमिनमा ५० किलो आलुको विउ ७० सेन्टीमिटर फरकको ड्याङ र २५ सेन्टीमिटरको फरकमा आलु रोप्दा १० वर्गमिटरमा ४०.५ किलो उत्पादन भएको बताइन् । तर स्थानिय तरिकाले लगाउदा ३७ किलो मात्रै उत्पादन भएको थियो भने आलुको दाना कुनै ठूलो र कुनै निकै साना उत्पादन भएका थिए ।

जनचेतना तरकारि कृषक पाठशालाका अध्यक्ष डिल्ली बहादुर बस्नेतले पाठशालामा सिकेको ज्ञान र सिप प्रयोग गर्दा उत्पादन बढेको बताए । ‘पहिले हामीले कृषि प्राविधिकहरुलाइ देख्न नै पाउँदैनथ्यौँ, तर यस पटक उहाँहरु हाम्रो बारिमै आएर पढाउनुभयो, उनले भने, सिकेर, बुझेर खेती गर्दा राम्रो उत्पादन हुने रहेछ ।’

पाठशालाको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आधुनिक प्रविधिबाट खेती गर्दा कम लागतमा धेरै उत्पादन हुने भएकाले यस तर्फ अग्रसर हुन किसानलाइ आग्रह गरे । उनले कपुरकोट गाउँपालिकालाइ समृद्ध बनाउने आधार नै कृषि भएकाले ब्यवशायीक खेती प्रणाली र किसानलाइ हरेक किसिमको सहयोग गर्न आफु क्रियाशिल भएर लागिरहेको बताए । कार्यक्रममा कपुरकोट २ का वडा अध्यक्ष मान बहादुर राना, कृषि विकास शाखा प्रमुख टिका कुमारि राई, कृषि प्राविधिक मुना बुढा लगाएतको मन्तव्य राखेका थिए । १६ हप्ता सम्म पाठशाला सञ्चालन भएको थियो ।

कपुरकोट ब्यवशायीक तरकारि उत्पादन केन्द्र

यसैविच प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कपुरकोट ३ र ४ मा शुरु भएको तरकारि ब्लकमा आवद्ध किसानलाइ तरकारि खेती सम्बन्धी तालिम प्रदान गरिएको छ । बुधबार २ दिने कम्पोष्ट तथा गोठे मल र तरकारि विरुवा उत्पादन एवम् खेती सम्बन्धी तालिमको एक कार्यक्रमका विच समापन गरिएको ब्लक सञ्चालक समितीका सचिव तिलक शर्माले जनाएका छन् ।

कार्यक्रममा गाउापालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले तरकारि खेतीका लागी प्रख्यात कपुरकोटलाइ अग्र्यानीक खेतीको रुपमा परिचीत बनाउनुपर्नेमा जोड दिए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले रोजगारिका लागी विदेशीने युवालाइ गाउँमै कृषि पेशामा आवद्ध बनाइ कृषिमा आधारित अर्थतन्त्रको माध्यमबाट गाउँपालिकाको आर्थीक उन्नती हुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!