फानीको असर : नवलपरासीमा चट्याङ लागेर वडा सदस्य गम्भीर घाइते, हावा हुरीले विभिन्न ठाउँमा क्षति

Posted on: 03 May, 2019

बैशाख २० ।  नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित दुई जना घाईते भएका छन् । भीषण हावाहुरी तथा वर्षाको समयमा खेतमा काम गर्न गएकी प्रतापपुर गाउँपालिका वडा नं ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी छिन् भने उनको छोरा भुलई अन्सारी समान्य घाइते भएका छन् ।

गम्भीर घाइते भएकी निशालाई उपचारको लागि भारत पठाइएको स्थानीय रामेश्वर कुशवाहाले बताएका छन् ।

हावाहुरीले पाँच नम्बर प्रदेशस्थित तराईका जिल्लामा विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।

बिहानैदेखि नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ जिल्लामा हुरी बतास चलेको छ । हुरीका कारण जनजीवन प्रभावित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हावाहुरी र चट्याङले दाङको राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोला स्थित ज्योति आधारभुत विद्यालय, राजपुर ६ खांग्रास्थित सामुदायिक स्वास्थ्य चौकीसहित ११ घरमा क्षति गरेको छ ।

हावाहुरीले उक्त बिद्यालयको जस्तापाता उडाएको र बरण्डाको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले बताए ।

जसबाट एकलाख ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै सामुदायिक स्वास्थ्य चौकीको १ तले २ कोठे भवनको जस्ता पाता उडाएको छ । जसबाट एक लाख बराबरको क्षति भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!