पत्रकारिता पुरस्कार भण्डारीलाई

Posted on: 04 May, 2019

वैशाख २१, विराटनगर (रासस) | प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले मुलुकमा सुशासन कायम गर्न सञ्चार जगत्को ठूलो भूमिका रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ मोरङ र भवानीप्रसाद–जीवादेवी स्मृति कोषद्वारा २६ औँ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा भवानीप्रसाद–जीवादेवी रेग्मी स्मृति पत्रकारिता पुरस्कार–२०७५ पुरस्कार शुक्रबार यहाँ वितरण गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

उक्त पुरस्कार विराटनगरमा प्रकाशित हुने उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारीलाई नगद रु ४१ हजार १११ र सम्मानपत्रसहित प्रदान गरियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले सञ्चार जगत् समाजको ऐनाको रुपमा रहेको बताउनुभयो । पुरस्कृत व्यक्तित्व भण्डारीले पुरस्कारले आफ्नो जिम्मेवारी बढाएको बताउनुभयो । 

राष्ट्रिय समाचार समिति (रासस)का तत्कालीन क्षेत्रीय प्रमुख हेमराज रेग्मीले आगामी दिनमा पुरस्कार राशि बढाउने जानकारी दिनुभयो । महासङ्घका मोरङ सभापति बन्धु पोखरेल, महासङ्घ प्रदेश महासचिव विवेक गौतम, महासङ्घका उपसभापति कुमोद अधिकारी, महासङ्घ मोरङका पूर्वअध्यक्ष शिवबहादुर कार्कीलगायतले लोकतन्त्रमा पत्रकारले स्वतन्त्र र भयरहित वातावरणमा काम गर्न पाउने पर्ने विचार व्यक्त गर्नुभयो । 

 

पत्रकार रेग्मी, प्रा डा उदयराज, प्रदीपकुमार, राजेशकुमार र उमा रेग्मीले आफ्नो मातापिताको स्मृतिमा मोरङलाई कार्यक्षेत्र बनाई १५ वर्ष पत्रकारिता गरिरहेको एक जनालाई पुरस्कार प्रदान गर्न रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!