रामपुरमा खरको छानोरहित अभियान

Posted on: 04 May, 2019

सुशीला रेग्मी | वैशाख २१, बेझाड (रासस) | रामपुर नगरपालिका–९ जब्गादी बस्ने शान्ति विकलाई चुहिने खरको छानोमा ओत लाग्नुबाहेक अरु विकल्प छैन । सानो झुप्रो त्यही पनि खरको छानो पानी पर्दा चुहेर घरभित्रै पानीको आहाल पर्छ । चुहिने खरको छानोमुनि बसेर कष्टकर रुपमा छ जना छोराछोरीको साथमा जीवन व्यतीत गर्दै आउनुभएको छ । वर्षायाम शुरु भएपछि उहाँको परिवारमा घर चुहिने समस्याले निकै पिरलो पारिरहेको हुन्थ्यो । रामपुर नगरपालिकाले उहाँलाई जस्तापाता सहयोग गरेपछि परिवारमा खुशीयाली छाएको छ । नगरपालिकाले खरको छानो हटाएर जस्तापाता लगाउन उहाँलाई आठ फुटे २४ वटा जस्तापाता सहयोग गरेपछि विकको मुहारमा खुशी छाएको छ । 

“वर्षायाममा चुहिने खरको छानोभित्र सानासाना बालबच्चा लिएर कष्टसँग जीवन बिताए, अब चुहिने खरका छानामुनि बस्ने दिन गए, जस्तापाता लगाएर वर्षायाममा आनन्दसँग बसोबास गर्ने दिन आए”, उहाँले भन्नुभयो । 

विकको मात्र होइन रामपुर नगरपालिका–१ बार्दाकोट बस्ने सलिना खाम्चाको पनि अवस्था उस्तै छ । उहाँले पनि अहिलेसम्म चुहिने खरको छानामुनि नै रात बिताउनुभयो । खरको छानोको ठाउँमा नगरपालिकाले उहाँलाई आठ फुटे २६  जस्तापाता सहयोग गरेपछि खुशी हुनुभएको छ । 

“घरमा जस्तापाता छाउन सक्ने अवस्था थिएन, चुहिने खरको छानोमुनि नै दिनरात बिताइयो, अब वर्षायाम कसरी जाला ओत कहाँ लाग्ने हो भन्ने पिरलो भएन”, खाम्चाले भन्नुभयो । रामपुर नगरपालिका–९ जब्गादीकै देवबहादुर सोमैले धमाधम खरको छानो हटाएर जस्तापाता लगाउन शुरु गर्नुभएको छ । नगरपालिकाले उहाँलाई आठ फुटे २९ पाता उपलब्ध गराएपछि घर छाउने काम शुरु गुर्नभएको छ ।

उहाँहरु त प्रतिनिधि पात्र हुनुहुन्छ । धेरै विपन्न दलित घरपरिवारमा नगरपालिकाले खरको छानो हटाएर जस्तापाता सहयोग गरेपछि परिवारमा खुशीयाली छाएको छ । पाँच वर्षभित्र रामपुर नगरपालिकालाई खरको छानोरहित नगर घोषणा गर्ने कार्यक्रमअनुसार जस्तापाता सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्ष मात्रै १४८ घरधुरीलाई जस्तापाता वितरण गरिएको थियो ।  

यस आर्थिक वर्षको हालसम्ममा १०० घरधुरीलाई जस्तापाता वितरण गरिसकेको खरको छानारहित कार्यक्रम संयोजक तथा रामपुर नगरपालिका ७ का वडाअध्यक्ष तीर्थप्रसाद पङ्गेनी बताउनुहुन्छ । “अघिल्लो वर्ष र यस वर्ष ५०/५० लाख रकम नगरपालिकाले विनियोजन गरी जस्तापाता वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । स्थानीयले नगरपालिकामा पेश गरेको निवेदनको आधारमा क्रमैसँग जस्तापाता उपलब्ध गराउने कार्य भइरहेको छ ।

खरको छानोरहित नगर कार्यक्रममा करीब ७५० घरधुरीले आवेदन पेश गरेका छन् । सङ्कलित निवेदनको आधारमा प्राविधिकसहितको कर्मचारी र जनप्रतिनिधिको टोली गाउँ गाउँमा पुगेर अनुगमनपश्चात् प्राविधिक अध्ययन गरी जस्तापाता वितरण गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो ।

“मूल घरमा खरको छाना भएको हुनुपर्ने र प्राविधिकको नाप नक्साङ्कनअनुसार घरको क्षेत्रफल हेरेर, जस्तापाता छाउने तयारी गरेपछि एक घरधुरीलाई रु २५ हजारदेखि ४० हजारसम्मको अनुदानस्वरुप जस्तापाता उपलब्ध गराउँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

अझै पनि यहाँका नगरवासी आर्थिक अभावले खरका छानामुनि बसेर जीविका चलाउँदै आइरहेका छन् । नयाँ संरचना कायम भई नगरपालिकाका जनप्रतिनिधिले शुरु गरेको यो कार्यक्रमबाट यहाँका नगरवासी उत्साहित बनेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!