खोलामा विष र करेन्टले चेपाङ समुदाय मर्कामा

Posted on: 04 May, 2019

हीरालाल गुरुङ | वैशाख २१, मुग्लिन (रासस) | कुनै बेला आफ्नै घर अगाडि रहेको रिग्दीखोलामा माछा मारेरै जीविका चलाउँदै आउनुभएका चितवनको इच्छाकामना गाउँपालिका–२ का मनबहादुर चेपाङको आज भोलि घरमा बास छैन । 

घरपरिवार पाल्नकै लागि मजदूरी गर्न देशका विभिन्न जिल्लामा जानुपर्ने बाध्यता छ । कारण हो आज भोलि खोलामा माछानै पाइन छाड्यो । दिनभर दुवाली र जालले मारेको माछाले उहाँको परिवारको खर्च टर्ने गथ्र्यो । उहाँले हप्ताभरि माछा मारेर सुकुटी बनाएर बजारमा बेच्न लैजाने र त्यसैबाट आवश्यक खाद्यान्नलगायत अन्य सामग्री किनेर ल्याउने गर्नुहुन्थ्यो । तर, केही वर्षयता विष र करेन्ट प्रयोग गर्न थालेपछि मन बहादुरको रोजीरोटी खोसियो । उहाँले भन्नुभयो, “पछिल्लो  केही वर्षयता यो खोलामा माछा पाइन छाड्यो, करेन्ट र विषले माछा मासियो, खेतीपाती गर्न प्रशस्त जमीन छैन, अहिले विभिन्न जिल्लामा मजदूरी गर्न जान बाध्य छु ।” 

यस्तै नरबहादुर चेपाङले पनि खोलामा विष र करेन्टले माछा मासिँदा आफूहरु मर्कामा परेको बताउनुभयो । जाल, दुवाँली र ढडीयाबाट मारेको माछा स्वादिष्ट हुनुका साथै  खोलामा  माछा नमासिने  उहाँको भनाइ छ । खोलामा विष हाल्न र करेन्ट  लगाउन रोक  लगाउनु  पर्ने उहाँको माग  छ ।  खोलामा विष हाल्ने र करेन्ट लगाउनेजस्ता कार्य गर्दा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता  गरेको गुनासो उहाँहरुको छ ।  

स्वादिष्ट रिग्दीको असला माछा, पाहुनालाई सत्कार 

मुग्लिनका रोहिणी त्रिपाठीका अनुसार रिग्दीखोलाको असला माछा राजदबारसमेत पुग्ने गथ्र्यो । यहाँको माछा स्वादिष्ट रहेका कारण अत्याधिक माग हुन्थ्यो । मुग्लिन बजार र नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका  होटलमा  रिग्दीखोलाको माछा प्रख्यात थियो । आज भोलि रिग्दीको माछा पाइन छाडेको धेरै भयो । 

त्रिपाठीका आनुसार चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी भेग हुँदै बगेको यस खोलाको माछा पाहुनाको सत्कारका  लागि पनि  प्रयोग हुने गर्छन् । सो गाउँपालिकाअन्तर्गत साविकको गाविस चण्डीभञ्ज्याङ, दाहाखानी र काउलेका समुदायले घरमा पाहुना आउँदा मासुको सट्टा माछाको परिकार खुवाउने गर्छन् । टाढा–टाढा रहेका आफन्तलाई कोसेलीसमेत पठाउने गर्छन् ।  

काउले मुहान रहेको रिग्दीखोला नारायणगढ –मुग्लिन सडकखण्डअन्तर्गत सिमल तालमा पुगेर त्रिशूली नदीमा मिसिएको छ । चितवनको उच्च भागबाट बगेको रिग्दीखोलाको चिसो पानीमा पाइने असला माछा स्वादिष्ट हुन्छ ।

रिग्दी खोलाको माछा विष र करेन्टले मासिँदा खोला आसपास माछा मारेर जीविकोपार्जन गर्ने चेपाङ समुदाय मर्कामा परेको उहाँले बताउनुभयो । रिग्दी खोलाको संरक्षण गर्नसके पाखो बारीमा उब्जाएको कोदो मकैले छ महीना पनि खान मुस्किल पर्ने चेपाङ समुदायलाई जीविकोपार्जन गर्ने सहज हुने उहाँको  भनाइ थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!