जोखिमयुक्त संरचना हटाउन निर्देशन

Posted on: 04 May, 2019

वैशाख २१, बेत्रावती (रासस) | विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त अवस्थाका जोखिमयुक्त संरचना हटाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीलाई निर्देशन दिएको छ । 

विसं २०७२ वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका पराकम्पका कारण भौतिक संरचना गुमाएकालाई लाभग्राही कायम गरी नयाँ संरचना बनाउन अनुदान उपलब्ध गराउँदै आएकाले जोखिम संरचना हटाउन प्राधिकरणले ताकेता गरेको हो । प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा भौतिक पूर्वाधार) कार्यालयमार्फत भूकम्प प्रभावित ३२ जिल्लामा भूकम्पका कारण घर क्षति ब्यहोरेकालाई नयाँ घर बनाउन रु तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ ।

अनुदान लिएर नयाँ घर बनाएका लाभग्राहीले भूकम्पले जोखिम बनाएका संरचनामा अझैसम्म बसोबास गर्दा थप जनधनको क्षति हुनसक्ने भन्दै त्यस्ता संरचना ३५ दिनभित्र हटाउन लाभग्राहीलाई प्राधिरकणले समयसीमा दिएको हो । क्षतिग्रस्त र जोखिमयुक्त संरचनाको प्राविधिक जाँच गरेर त्यस्ता संरचना हटाउन एवं भत्काउन आदेश दिइसकेकाले कार्यान्वयनको चरणमा अघि बढेको एकाइका नुवाकोट प्रमुख बिकी लाखाले बताउनुभयो ।

उहाँको अनुसार प्राधिकरणले जारी गरेको सूचनाको अटेर गरेमा कार्यालयले नै हटाएर त्यसवापत लाग्ने खर्च सम्बन्धित घरधनीबाट असुल गर्ने कानूनी व्यवस्था रहेको छ । नुवाकोटमा भूकम्पका कारण क्षति पुगेका करीब ७६ हजार निजी आवासमध्ये हालसम्म ४४ हजारभन्दा बढी घर सरकारी अनुदानमा निर्माण सम्पन्न भएका छन् ।

नयाँघर निर्माण गरेका लाभग्राहीले हाल बनाएको घरमा बसोबासका लागि स्थान अभावलगायतका बाहनामा क्षतिग्रस्त संरचनाको भवन अझै प्रयोग गर्दै आएका अनुगमनमा पाइएपछि त्यस्ता संरचना हटाउन निर्देशन दिइएको हो । जिल्लामा करीब २० हजार घर जोखिम तथा क्षतिग्रस्त अवस्थाका रहेका अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!