दुई स्थानीय तहमा खषभाषा पढाइ हुने

Posted on: 04 May, 2019

वैशाख २१, जुम्ला (रासस) | यहाँका दुई स्थानीय तहमा खष भाषामा पठनपाठन हुने भएको छ । आठ स्थानीय तहमध्ये सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय खषभाषामा पढाइ हुने भएको हो । 

लोपोन्मुख अवस्थामा रहेको यहाँको खषभाषालाई संरक्षण सम्वद्र्धन गर्न स्थानीय तहले पाठ्यक्रम तयार गरेर पठनपाठनको थालनी गर्ने भएका हुन् । सिञ्जाका अध्यक्ष देवलसिंह रावलका अनुसार सङ्घीयतापछि स्थानीय तह कार्यान्वयनमा आएपछि यहाँका विद्यालयमा खषभाषामा पठनपाठन गर्ने भएको छ । उहाँले सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको खषभाषा देशभरी फैलिए पनि अहिले लोपोन्मुख अवस्थामा रहेको बताउनुभयो ।

स्थानीय तहमै खषभाषाको पाठ्यक्रम तयार गरेर पठनपाठन गर्ने योजना अनुसार काम भइरहेको उहाँले जानकारी दिनुभयो । पाठ्यपुस्तक तयार गरी छपाइको काम भइरहेको छ । तातोपानीले एकदेखि कक्षा तीनसम्मको पाठ्यपुस्तक तयार गरी छपाइ कार्य शुरु गरेको छ । पाठ्यपुस्तक छाप्ने काम भइरहेकाले जेठ पहिलो हप्ताबाट विद्यालयमा पुस्तक वितरण गरी पढाइ शुरु गर्ने कार्ययोजना रहेको तातोपानीका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । 

यहाँ रहेका ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली पाठ्यपुस्तकमा समावेश गरिएको उहाँले बताउनुभयो । “चार र पाँच कक्षाको पनि पाठ्यपुस्तक तयार हँुदैछ”, उहाँले भन्नुभयो, “अहिले यो वर्ष एकदेखि तीन कक्षासम्म पढाइ हुने छ ।” कला–संस्कृति, धार्मिक स्थल, भूगोल, इतिहास, धार्मिक सम्पदा, जडीबुटी र खेलकूद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी गर्न स्थानीय पाठ्यक्रम समावेश गरिएको बताइएको छ । यहाँका २८ सामुदायिक विद्यालयमा स्थानीय खषभाषामा पठनपाठन गरिने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!