सफाइ अभियान निरन्तर, ३१ मेट्रिक टन फोहर व्यवस्थापन

Posted on: 05 May, 2019

पूर्णप्रसाद मिश्र | वैशाख २१, काठमाडौँ (रासस) | आमाको मुख हेर्ने पर्व परेपनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान आज पनि जारी रह्यो । आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ वाग्मती सफाइ महाअभियानको ३१२ औँ हप्तामा सिनामङ्गल पुल क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत २१ संस्थाको सक्रियता थियो । सफाइमा ३५० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो ।  

सफाइमा अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख आशीष घिमिरे लगायत अभियानकर्मी पनि सहभागी हुनुभएको थियो । नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेज रहेको क्षेत्रमा समेत फोहर बढी देखिएकाले घरदैलो जनचेतना अभियान सञ्चालन गरिएको थियो । 

यसैगरी गुह्येश्वरी माथिको वाग्मती सफाइको २७२ हप्तामा गोकर्णेश्वर नगरपालिका वडा नं. ७ स्थित माकालबारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत लगायत २०० भन्दा धेरै अभियानकर्मीको सहभागिता थियो । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि भक्तपुरतर्फ लगेको पाइप जडान गर्दा अधिकार सम्पन्न वाग्मतीले बिच्छएको ढल खनी वाग्मती नदीमा मिसिई प्रदूषण फैलिएको भेटिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो । 

सो अवसरमा समिति अध्यक्ष बस्नेतले आइतबार नै निर्देशनालयलाई भनेर समस्या समाधान गराउने प्रतिबद्धता आजको सफाइका क्रममा जनाउनुभयो । आज यस क्षेत्रको सफाइ कार्यक्रमबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

रुद्रमती सफाइ अभियानको २६७ औँ हप्तामा रातोपुल–मैतीदेवी–सेतोपुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं.–३० का अध्यक्ष दलबहादुर कार्की सहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

 विष्णुमती सफाइको २३९ औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं. १० र टोखा नगरपालिका वडा नं. ९ बीचको घलेपुल क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेयले जानकारी दिनुभयो । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

वाग्मतीको तिलगंगा क्षेत्रमा २१३औँ हप्ताको सफाइ काठमाडौँ महानगरपालिका वडा नं –८ तिलगंगा महिला समूह र आदर्श सेवा नव जीवन केन्द्रको सक्रियतामा भयो । जनचेतनामूलक सफाइका क्रममा फोहर र प्लाष्टिक नजलाऔँ भन्ने सन्देश प्रवाह गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिनुभयो । सो अवसरमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको थियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।  

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १२२ औँ हप्ताको सफाइ गरियो ।   १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।

मनोहरा नदी सफाइको १११ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं.–३२ स्थित बालकुमारी पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दंगालले जानकारी दिनुभयो । सफाइमा आध्यात्मि चिन्तक डा चिन्तामणि योगी, सुरक्षा निकाय, सञ्जय साई अर्गनाइजेसन, स्थानीय टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासी गरी १०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । 

चक्रपथ सफाइ अभियानको १०८ औँ हप्तामा गोङगबु नयाँ बसपार्क क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी तिलक बस्नेतले जानकारी दिनुभयो । घरदैलो गरी कुहिने फोहर सडकमा नफाल्न आह्वान गरिएको थियो । जनचेतनामूकलक अभियान बढी प्रभावकारी हुने अनुभव आज गरिएको अभियानकर्मीले जनाएका छन् । सफाइमा सुरक्षा निकाय, हिमालयन वातावरण संरक्षण प्रालि लगायत संस्थाका २५० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।  

आलोकनगर सफाइको १०८ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले जानकारी दिनुभयो । त्यस क्षेत्रमा घर दैलो समेत गरी सडक एवं नदी किनारमा फोहर नफाल्न आग्रह गरिएको थियो । टोल घर दैलो अभियान अन्तर्गत प्लाष्टिक जलाउने र ढल नदीमा हाल्ने कामको अन्त्य गर्न पनि सो अवसरमा आह्वान गरिएको थियो ।

आलोकनगर सफाइ गरी वाग्मती सफाइ महाअभियानको ३१२ हप्ताको कार्यक्रममा सिनामङ्गलमा पनि सहभागी भएको संयोजक पौडेलले राससलाई सुनाउनुभयो ।   

चक्रपथ वाफल खण्ड सफाइको ९० औँ हप्तामा सीतापाइला चोकबाट स्वयम्भू बुद्धपार्कसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्व खेलकुद मन्त्री एवं सांसद राजेन्द्रकुमार केसी, पण्डित दीनबन्धु पोखरेल पनि सहभागी भएर अभियानलाई साथ दिनुभएको थियो । 

तीनै सुरक्षा निकायका साथै अभियानकर्मी गरी सफाइमा २०० भन्दा बढीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । सो अवसरमा सडक र नदीमा फोहर नफालौँ कुहिने घर घरमै व्यवस्थापन गरौँ, नकुहिने जति महानगरपालिका एवं नगरपालिकाले तोकेको स्थानमा राखौँ भन्दै घर दैलो जनचेतनामूलक अभियान गरिएको थियो । 

बौद्ध चैत्य सफाइ 

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रको सातौँ हप्ताको सफाइ बौद्ध घ्याङ गुठीको नेतृत्वमा भयो । पर्यटकको भीड लाग्ने बौद्ध क्षेत्रमा फोहर बढ्न थालेपछि सफाइ शुरु गरिएको गुठीका प्रशासकीय अधिकृत नवीनवज्र लामाले जानकारी दिनुभयो । यस क्षेत्रको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ अभियानको जागरण आएको हो । वाग्मती लगायत नदी सफाइ अभियान महत्वपूर्ण चाँड पर्वमा पनि रोकिएको छैन । महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस रुपमा काम हुन सकेको छैन ।  

वाग्मतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यकाबाहिर पनि केही नदी एवं शहरमा गरी १०४ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । नयाँ वर्षदेखि पूर्वको मेची पुलबाट शुरु भएको मेची महाकाली सफाइ अभियान अज इटहरी आइपुगेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिनुभयो ।  नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सफा नेपाल अभियान शुरु गरिएको हो । भ्रमण वर्षलाई सफल पार्न आज झापाको भद्रपुरमा विशेष सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!