अज्ञात रोगले गाउँले धमाधम बिरामी

Posted on: 06 May, 2019

वैशाख २३, खलङ्गा  | जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताउनुभयो । 

प्रत्येक घरमा बिरामी खाली नभएको उहाँले बताउनुभयो । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उहाँले बताउनुभयो । शिक्षक कुँवरका अनुसार विद्यार्थी शिक्षकसमेत बिरामी परेपछि पठनपाठनसमेत प्रभावित भएको छ । सबै उमेर समूहका व्यक्तिलाई अज्ञात रोगले सताएको स्थानीय सूर्य बुढाले बताउनुयभो । स्वास्थ्य संस्था भने बेखबर भएको स्थानीयले गुनासो गरेका छन् ।

रोगले विस्तारै तातोपानी–७ का सर्मी, सुर्की, ताम्ती र बारागाउँमा समेत असर पारेको वडा नम्बर ७ का वडाध्यक्ष मकरबहादुर रावतले बताउनुभयो । अब छिट्टै स्वास्थ्यचौकीसँग समन्वय गरेर उपचार अघि बढाइने उहाँले बताउनुभो । जनता सेवक आधारभूत काटिया सर्मीका विद्यार्थीको स्वास्थ्य अवस्था बुझेर उपचार गरिने लामाबगर स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!