रमजान पर्व मङ्गलबारदेखि

Posted on: 06 May, 2019

वैशाख २३, विराटनगर,   | इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ ।

एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३।४३ बजेबाट बेलुका ६।३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।

दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।

विराटनगर सरौचिया निवासी मोहम्मद अजादका अनुसार रमजान महीना हाम्रो लागि निकै महत्वपूर्ण हो र यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महीना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अजादको भनाइ छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!