बागलुङमा इन्टरनेटको पहुँच बढ्दै

Posted on: 07 May, 2019

रामबहादुर थापा | बैशाख २४, बागलुङ | गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी छन्  । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो । 

‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकम बागलुङले जनाएको छ । रमुवामा गत वर्षमात्र मोबाइल सेवा पुगेको हो । डेढ सय घरधुरी रहेको रमुवामा चाप कम भएका कारण इन्टरनेट तीव्र र स्तरीय छ । बडिगाड गाउँपालिका–८ खोलाखर्कमा पनि ‘थ्रिजी’ विस्तार भएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए । खोलाखर्कका झण्डै चार सय घरधुरी उक्त सेवाबाट लाभान्वित छन् । 

सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित दुवै गाउँ भौगोलिक हिसाबले विकट छन् । टेलिकमले ग्राहकको माग र डाटाको खपत बढी हुने ठाउँमा ‘थ्रिजी’ सेवा विस्तार गर्ने गरेको छ । ‘थ्रिजी’ सेवाको डाटा र भ्वाइस दुवैमा सुधार आएपछि प्रयोगकर्ता पनि सन्तुष्ट भएका छन् । ‘बढी क्षमतायुक्त र तीव्र गतिको ‘थ्रिजी’ सेवा विस्तार भइरहेको छ’, वरिष्ठ इञ्जिनीयर शर्माले भने, ‘दुर्गम क्षेत्रमा पनि पहुँच पुगेको छ ।’ 

बागलुङसँगै म्याग्दी, पर्वत र मुस्ताङका विकट क्षेत्रमा पनि ‘थ्रिजी’ सेवा विस्तारको काम भइरहेको छ । म्याग्दीको पोखरेबगर, पर्वतको अम्बोट, लुङ्खु देउराली र गहतेपोखरामा पनि हालैमात्र ‘थ्रिजी’ सेवा शुरु भएको छ । मुस्ताङको चराङ, घमी, लोमान्थाङ र छुसाङमा ‘थिज्री’ सेवाका लागि पूर्वाधार तयारीको काम अघि बढाइएको छ । 

यस्तै बागलुङको भिमापोखरा, दर्लिङ, रेश, बलेवा, पर्वतको शङ्करपोखरी र म्याग्दीको बिममाा ‘थ्रिजी’ को क्षमता बढाइएको टेलिकम कार्यालयले जनाएको छ । चालु आवभित्रै धवलागिरिका दश नयाँ ठाउँमा ‘थ्रिजी’ सेवा पुर्याइने कार्यालयका इञ्जिनीयर विज्ञान भट्टराईले बताए । जिल्लाको भकुण्डे, रायडाँडा, तमान, रिघा, बिजौरे, नागबेली खोला, खुङ्खानी, पर्वतको आर्थर डाँडाखर्क, म्याग्दीको अर्मन र मुस्ताङको जोमसोममा ‘थ्रिजी’ सेवा विस्तार हुँदैछ । 

निर्माणाधीन अवस्थामा रहेको नयाँ ‘जिएसएम बिटिएस’ टावरबाट ‘थ्रिजी’ सेवा उपलब्ध गराउने टेलिकमको योजना छ । जिल्लाको अमरभूमि, खुङ्गा, नाम्दुक, म्याग्दीको बरङ्जा, मुस्ताङको छोसेर कोरला र घाँसामा नयाँ टावर निर्माण गरिँदैछ । थप नयाँ ठाउँमा टेलिकमको सेवा विस्तारका लागि सर्वे भइरहेको वरिष्ठ इञ्जिनीयर शर्माले बताए । बागलुङ–रुकुमको सीमा क्षेत्र, म्याग्दीको चिमखोला, पर्वतको राम्जादेउराली र मुस्ताङको टुकुचेमा नयाँ टावर बन्नेछन् । 

टेलिकमका अनुसार समयमै काम भए अर्को वर्ष एक सय ८ ठाउँबाट ‘थ्रिजी’ सेवा शुरु हुनेछ । ‘थ्रिजी’ प्रविधिमार्फ्त ‘‘भिडियो÷भ्वाइस च्याट’, तीव्र गतिको इन्टरनेट ‘सर्फिङ’ लगायतका सेवा ग्राहकले पाइरहेका छन् । सात दशमलव २ ‘एमबिपिएस’ सम्मको गतिमा सेवा प्रवाह भइरहेको टेलिकमले जनाएको छ ।

चारै जिल्लाका सदरमुकाम, मुख्य बजार क्षेत्र र अधिक जनसङ्ख्या भएको  ठाउँमा ‘थ्रिजी’ सेवा पुगेको बताइएको छ । देशका ठूला शहरमा ‘फोरजी’ सेवा सञ्चालनमा आए पनि धवलागिरिमा भने उक्त सेवा शुरु हुनसकेको छैन । ‘फोरजी’ सेवा सञ्चालनको लागि तयारी अघि बढेको र यसैवर्ष धवलागिरिका मुख्य शहरी क्षेत्रमा सेवा विस्तार हुने नेपाल टेलिकमले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!