कर्णाली प्रदेश सरकारद्वारा किसानलाई भैसी हस्तान्तरण

Posted on: 07 May, 2019

बैशाख २४, सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो ।  मन्त्रालयले सोमबार बराहताल गाउँपालिका १० ओदानतालका ४० कृषकलाई एक÷एक वटा भैंसी हस्तान्तरण गरेको हो ।

कृषकमा आधारित भैंसीपालन व्यवसाय कार्यक्रम अन्तर्गत सुर्खेतका कृषकहरुलाई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैंसी हस्तान्तरण गरिएको हो । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यहरुलाई भैंसी हस्तान्तरण गरिन् ।

कर्णाली प्रदेश सरकारको रु. ५० लाख, कृषकको रु. १० लाख, वराहताल गाउँपालिकाको रु. ५ लाख र लागत सहभागिताको रु. ५ लाख गरी ७० लाखमा भैंसी खरिद गरेर वितरण गरिएको सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले जानकारी दिए । सहकारीले खरिद गरेका ती भैंसी किसानलाई गोलाप्रथामार्फत छनौट गरिएको थियो । सहकारीका अध्यक्ष सुनारका अनुसार १५ भैंसी दुहुना रहेको तथा वितरण गरिएका भैंसीको सहकारीले बिमा गरिदिएको छ ।

भैंसी वितरण कार्यक्रममा मन्त्री केसीले किसानको आय आर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रम निरन्तरता दिने बताईन् । ‘भैंसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई बिकास गर्नुपर्छ’, उनले भनिन्, ‘ यसका लागि किसानहरुले व्यवसायिक घाँस खेतीमा जोड दिनुपर्छ ।’ आगामी वर्षको बजेट किसानमुखी भएर बजेटको विनियोजन गरिने उनको भनाई छ ।

सरकारले कृषिमा दिने अनुदान दुरुपयोग हुन नदिने भन्दै भैंसीपालन गरेर आयआर्जन गर्नु गरी नमूना बन्न कृषकलाई आग्रह समेत गरिन् । ‘अनुदानमा पाएका भैंसी बिक्री नगर्नु होला’ उनले भनिन्, ‘तपाइहरुबाट अरुले सिकेर व्यवसायिक पशु पालनमा लाग्न प्रेरणा मिलोस् ।’ सरकारी अनुदानलाई गरिव किसानले खोज्ने भन्दा सरकारले गरिबको खोजी गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य विन्दमान विष्टले सरकारी अनुदानलाई सदुपयोग गरि आत्मानिर्भर हुन आग्रह गरे  । बराहतालका किसानहरुले यहाँको दुधको आवश्यकतालाई परिपुर्ति गर्न सक्ने गरि काम गर्नपर्ने बताए । त्यस्तै गाँउपालिका अध्यक्ष तेजवहादुर वस्नेतले व्यवसायिक किसानलाई गाँउपालिकाले पनि अनुदान दिने बताए  । दुध उत्पादनका आधारमा किसानलाई प्रोत्साहन अनुदान प्रदान गरिने अध्यक्ष बस्नेतले जानकारी दिए  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!