अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सकियो

Posted on: 09 May, 2019

बैशाख २६, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा पाचौँ अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सकिएको छ । वैकल्पिक स्रोत र प्रविधिको बिकास गर्ने मुख्य उद्देश्यले बुधवार र विहीवार  दुई दिनसम्म वीरेन्द्रनगरमा सम्मेलन आयोजना गरिएको हो । अन्तराष्ट्रिय विज्ञान सामुदायिक संगठन र एमयूको सह–आयोजनामा भएको उक्त सम्मेलन विहीवार विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको सभा हलमा सम्पन्न भएको हो ।

विज्ञान, प्रविधि, कृषि, पर्यावरण, सामाजिक लगायतका विभिन्न विधामा ४० वर्षमुनीका उत्कृष्ठ वैज्ञानिक छनौट भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पस वनस्पती विषयका उप–प्राध्यापक शिवराज घिमिरेले जानकारी दिए । सम्मेलनको पहिलो दिन बुधवार चार वटा मुख्य पत्रहरु प्रस्तुतीकरण, प्रस्ताव लेखन, वैज्ञानिक अनुसन्धान प्रकाशन, विज्ञान अनुसन्धानमा तथ्याङ्क शास्त्र भुमिका लगायतको विषयमा छलफल तथा प्रस्तुत भएको उप–प्राध्यापक घिमिरेले बताए ।

पहिलो बुधवार पाँच वटा सेसन भएको थियो भने, जसमा दुई वटा प्लेनरी प्रस्तुती, दुई वटा निमन्त्रणा प्रस्तुती र पोष्टर प्रतिष्पर्धाको प्रस्तुतीकरण भएको उनको भनाई छ । युवा वैज्ञानिक प्रतिष्पर्धाबाट विभिन्न विधाका कार्यपत्रको निर्णायक समितिले मूल्याङ्कन गरी विभिन्न विधामा प्रमाण पत्र तथा मेडल प्राप्त गरेका छन् । सम्मेलनका लागि कुल ९५ वटा प्रस्तुतीहरु पठाएकोमा ७० को हाराहारीमा सहभागिता जनाएका थिए । जसमा २३ वटा मौखिक प्रस्तुती भएका थिए ।

सम्मेलनमा अमेरिका, बंगलादेश, भारत, नेपाल, नाइजेरिया लगायतका पाँच देशका वैज्ञानीकहरुको सहभागिता रहेको थियो । सम्मेलनको समापन समारोहमा सहभागिलाई प्रमाण पत्र वितरण गर्नुका साथै विदेशी विश्वविद्यालयबाट नेतृत्व गरी आएका सहभागिलाई मायाको चिनो प्रदान गरिएको छ । सम्मेलनको समापनमा विश्वविद्यालयका अनुसन्धान शाखाका निर्देशक प्राध्यापक डा. दिपबहादुर रावलले विश्वविद्यालय प्राज्ञिक क्षेत्र भएको हँुदा यसको विकासका निम्ति विभिन्न खोज तथा अनुसन्धानमा प्राध्यापक तथा विद्यार्थीहरु लागि पर्नुपर्ने बताए ।

विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद चपाईले नेपालमा कमैमात्रा हुने अन्तराष्ट्रिय सम्मेलनहरु पहिलो पटक कर्णालीमा हुनुु भनेको गौरवको विषय बनेको उल्लेख गरे । यस्ता सम्मेलनले यहाँको विद्यार्थी तथा प्राध्यापकहरुलाई थप खोज अनुसन्धानमा लाग्ने हौसला प्रदान गरेको बताए । सम्मेलनमा संयोजक प्राध्यापक डा. दिपक शर्मा (भारत) बंगलादेश कृषि विश्वविद्यालय डा.अजहरुल इस्लामको समहागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!