एउटैले छ जिल्लाको काम भ्याउनुपर्ने बाध्यता

Posted on: 10 May, 2019

बैशाख २७, सुर्खेत | एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय  उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की  यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ । 

कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले छ जिल्लाको गर्नुपर्ने काम एक्लैले गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ,  सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापा । जनशक्ति अभावका कारण छ जिल्लाको काम उहाँले जेनतेन एक्लैले हेर्दै आउनुभएको हो ।  काम विशेष कार्यालय बाहिर जानुपर्दा  जिम्मेवारी सम्हाल्ने अर्को कुनै कर्मचारी नहुँदा यहाँ निकै समस्या हुने गरेको छ । 

हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सुर्खेत जिल्लाको काम आफू एक्लैले सम्हाल्नुपरेको उहाँले बताउनुभयो ।  निमित्त प्रमुृख थापाले वैशाखसम्म जाजरकोट, दैलेख र सुर्खेतको काम सम्पन्न गर्नुभएको छ भने अन्य जिल्लाको काम सम्पन्न गर्ने तयारीमा हुनुहुन्छ । कार्यालय प्रमुख नहुँदा निमित्त कार्यालय प्रमुखका रुपमा समेत काम गर्दै आउनुभएका खाद्य निरीक्षक थापाले गत साउनदेखि आफू एक्लैले छ जिल्लाको काम गर्नुपरेको गुनासो गर्नुभयो ।

मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायमा कर्मचारी नहँुदा नागरिकको खाद्य सुरक्षाको अधिकारमा समस्या आउन नदिन कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्यक्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीविना एक्लैले काम गर्नुपरेकोले  निकै गाह्रो भएको उहाँको भनाइ थियो ।

“न सवारी साधन छ नत अन्य कुनै सेवा सुविधा”, रासससँग  कुरा गर्दै निमित्त कार्यालय प्रमुख थापाले भन्नुभयोे, “बजार अनुगमन तथा निरीक्षणका लागि जान पनि अन्य निकायको  सवारी साधन  माग्नुपर्छ । विभागमा सवारी साधनको माग गर्दा अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । विविध समस्याले कार्यालयले लिएको लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ ।”

उहाँले थप्नुभयो, “छ जनाको दरबन्दीमा कार्यालय सहयोगी र म मात्रै छु । स्टोर, लेखा, प्रशासन, अभिलेखलगायत सबै काम आफैले हेर्नुपर्छ । म बाहिरिँदा नागरिकले दिएको निवेदन÷उजुरी बुझ्ने र हेरेर जवाफ दिने मान्छेसमेत छैन । लेखापाल नहुँदा तलब खान त्यत्तिकै समस्या भएको छ ।” 

निमित्तप्रमुख थापाका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले चालू आवमा यो क्षेत्रका खुद्रा पसल, उद्योग, होटल तथा मिठाइ पसल निरीक्षण गर्दै आएको छ । अहिले निरीक्षण र गुणस्तर जाँच मात्र नभई कार्यालयले प्रवद्र्धनात्मक  कार्य पनि थालेको उहाँले बताउनुभयो । वडास्तरीय खाद्य स्वच्छता समूह गठन तथा परिचालन, खाद्य स्वच्छतासम्बन्धी तालीम, उपभोक्ता भेला, खान हुने र नहुने खाद्यवस्तु, तिनको गुणस्तर र खाद्य उपभोगका विषयमा विद्यार्थीलाई पढाउने गरिएको  उहाँको भनाइ थियो ।  

यसैगरी खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन, २०३३ अन्तर्गत रहेर बन्द तथा खुला १२० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमूना लिएर जाँच गर्दै आइएको निमित्त प्रमुख थापाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!