दुई महीनाभित्र ‘मास प्रिन्टर’ खरीद गरिने

Posted on: 12 May, 2019

स्मार्ट चालक अनुमतिपत्रका लागि फारम भरेर पनि नपाउनेको सङ्ख्या दिनदिनै बढिरहदा सरकारले दुई महीनाभित्रमा ‘मास प्रिन्टर’ खरीद गरिसक्ने भएको छ । 

‘मास पिन्टर’ खरीदका लागि ठेक्का आह्वान भइसकेकाले दुई महीनाभित्रमा आइसक्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले खरीद प्रक्रियामा गइसकेकाले अब सेवाग्राहीले चालक अनुमतिपत्रका लागि लामो समय कुर्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको केही महीनापछि नै सेवाग्राहीले फारम भरेको एकदुई हप्तामा नै चालक अनुमतिपत्र पाउनेछन् ।”

कार्यालयमा अहिले झण्डै छ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका क्रममा रहेका महानिर्देशक दाहालले बताउनुभयो । उहाँका अनुसार छ महीना पहिले फारम भरेका सेवाग्राहीले अहिले चालक अनुमतिपत्र पाउन बाँकी रहेको छ । उहाँले भन्नुभयो, “मास प्रिन्टरले काम गर्न थालेसँगै यो अवधि कम हुँदै जानेछ ।”

देशभर रहेका यातायात व्यवस्था कार्यालय प्रदेशमा हस्तान्तरण भइरहेपनि विभागले नै ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गर्दै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!