आपराधिक घटनाका सूचना दाता असुरक्षित

Posted on: 15 May, 2019

पूर्णप्रसाद मिश्र | जेठ १, काठमाडौँ | नेपाल प्रहरीलाई समाजमा भइरहेको आपराधिक घटनाको सूचना दिँदा दुःख खेप्नुपरेकाले सूचनादाताको नाम र मोबाइल नं गोप्य राख्ने व्यवस्था मिलाउन गोकर्णेश्वर नगरवासीले अनुरोध गरेका छन् । समुदाय–प्रहरी साझेदारी गोकर्णेश्वर नगरपालिकाले आज जोरपाटीमा आयोजना गरेको अन्तक्रिृयामा लागू पदार्थ दुव्र्यसनी, दर्ता नगरी भट्टी र स्थानीय रक्सी उत्पादन गर्ने, जुवातास खेल्ने खेलाउने लगायतको सूचना प्रहरीलाई दिँदा सूचनादाताको नाम र नंंं प्रहरीले पीडकलाई दिएको गुनासो नगरवासीले सुनाए ।

छहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले चार÷पाँच जना मानिसले दैनिक लागुऔषध सेवन गरेर अन्य आपराधिक क्रियाकलाप पनि गर्न सक्ने सूचना प्रहरीलाई दिएको आरोप लगाउनुभयो । आरुबारीका पृथ्वीजङ्ग बस्नेतले सूचनादाता प्रहरी र आपराधिक घटनामा संलग्न दुवैबाट खतराको सूचीमा पर्ने गरेको गुनासो गर्नुभयो । नारायणटारस्थित नयाँ जीवन नेपालका अध्यक्ष राजन खनालले आपराधिक घटनामा संलग्नबाट समस्या भएर प्रहरीलाई खबर गर्दा अर्को दिन छोडिने गरेको आरोप लगाउनुभयो ।

नयाँपार्टीका पवन गहतराजले नगरपालिका कार्यालयअघिको मेडिकलका सञ्चालकले लागुऔषध बेचबिखन गरेको उजुरी प्रहरीलाई गरेपछि प्रहरीले नियन्त्रणमा लिएको र एक दिनमै छोडिएको भन्दै विरोध जनाउनुभयो । दर्ता खारेज गरेर कारवाही गर्नुपर्नेमा सञ्चालकलाई अर्को दिन छोड्दा लागुऔषध बेच्ने र प्रयोग गर्ने दुवैको मनोबल बढेको उहाँको भनाइ थियो ।

नारायणटारकी पुष्पा लिम्बूले आपराधिक घटना भइरहेको प्रहरीले देखे पनि कसैको उजुरी नआई कानूनी कारवाहीको प्रक्रिया अघि नबढाउने गरेको आरोप लगाउनुभयो । कार्यक्रममा छविराज ओझा, बिन्दा तिमल्सिना, प्रकाश अधिकारी, इन्द्र श्रेष्ठ, लेखकुमारी पुडासैनीलगायत नगरवासीले वाग्मती नदीबाट बालुवा उत्खनन् गरी मध्यरातमा नगरवासीलाई असर पुग्ने गरी चोरी निकासी गर्ने, सडकमा ट्राफिक लाइटको व्यवस्था नहुँदा घण्टौँ जाममा बस्नुपर्नेलगायत शान्ति सुरक्षाका बारेमा नगरपालिका र उच्च प्रहरी अधिकारीसमक्ष समाधानको पहल गर्नुपर्ने माग राख्नुभएको थियो ।

सिसिटिभीद्वारा नियमन 

नगरस्तरीय नागरिक–प्रहरी साझेदारी समिति संयोजक एवं नगर प्रमुख सन्तोष चालिसेले शान्तिसुरक्षामा सहयोग गर्न नगरपालिकाले १२५ स्थानमा सिसीटिभी जडान गर्न लागेको बताउनुभयो । नगरका व्यस्त सडकमा आकाशे पुल हाल्न लागेको जानकारी पनि उहाँले दिनुभयो । “विद्यालय तहकै विद्यार्थी लागुऔषधमा फस्न थालेको तथ्य विभिन्न सर्वेक्षणले देखाएको छ, यसैले नगरभित्रका ११५ विद्यालयमा रगत परीक्षण गर्न लागिएको छ, विद्यालयको सहकार्यमा हुने रगत परीक्षणको प्रतिवेदन घरमा अभिभावकाको जानकारीका लागि पनि पठाइनेछ”, नगर प्रमुख चालिसेले भन्नुभयो ।

यसबाट आधारभूत विद्यालय तहदेखि नै लागुऔषध प्रयोग गर्ने दर ९० प्रतिशतसम्म घटाउने नगरपालिकाको लक्ष्य छ । आपराधिक घटनाको जानकारी गराउने व्यक्तिको सूचना सार्वजनिक नगरी अति गोप्य राख्न उहाँले प्रहरी प्रशासनसमक्ष आग्रह गर्नुभएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले ९० प्रतिशत अपराध सामाजिक वातावरणबाट जन्मने गरेकाले परिवार तहबाटै यसको न्यूनीकरण गर्न समुदाय प्रहरी साझेदारीको सोच अघि सारिएको बताउनुभयो ।

बलात्कार र सामाजिक विकृतिका घटना गत वर्षभन्दा बढेको उल्लेख गर्नुहुँदै उहाँले सामाजिक सञ्जालका माध्यमबाट शुरु हुने प्रेमकथाको अन्त्य हत्यासम्म पुगेर टुङ्गिने गरेको बताउनुभयो । “स्थानीय सरकारलाई नागरिक सुरक्षा, सडक सुरक्षा, सबैखाले सामाजिक विकृति र जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतसाधनको रक्षा गर्ने जिम्मेवारी स्थानीय तह सञ्चालन ऐनले नै दिएको छ, त्यसै आधारमा ७५१ तहमा समुदाय प्रहरी साझेदारी समिति गठन भइसकेको छ”, उहाँले भन्नुभयो ।

वडा र गाउँ तहमा गरी हालसम्म देशभर २० हजार समिति गठन भइसकेको छ । दरबन्दी भए पनि हाल नेपाल प्रहरीमा १२ हजार जनशक्ति रिक्त रहेको जानकारी प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले बताउनुभयो । नगर उपप्रमुख शान्ति नेपालले सडक सुरक्षा, अपराध नियन्त्रणका लागि बौद्ध–जोरपाटी–दक्षिणढोका र जोरपाटी–गोकर्ण सडकमा सिसीटिभी राख्ने तयारी भइरहेको बताउनुभयो । सडकमा टिपर आतङ्क रोक्न प्रहरी प्रशासन चनाखो हुनुपर्ने उहाँको भनाइ थियो ।

महानगरीय प्रहरीवृत्त बौद्धका प्रमुख नरेन्द्र चन्दले समुदाय–प्रहरी साझेदारी समिति गठनपछि वर्षौंदेखि लुकिराखेका आपराधिक घटनाको जानकारी आएको बताउनुभयो । यस क्षेत्रमा प्रहरीले गत वर्ष गरेको कारवाहीबाट रु ६८ लाख राजश्व सङ्कलन भएको जानकारी पनि उहाँले दिनुभयो । नगरपालिकाको वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले चाबहिल–बौद्ध–जोरपाटी–नारायणटार र जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको जीर्ण अवस्थाले सवारी दुर्घटना भएपछि मानिस मर्ने गरेकाले सुरक्षाका लागि समुदाय–प्रहरी साझेदारी यसतर्फ पनि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!