कुश्मामा विराट कोटिहोम महायज्ञ शुरु, राष्ट्रियसभा अध्यक्षले गरे उद्घाटन

Posted on: 16 May, 2019


विश्वकै अग्लो शिवपार्वतीको मुत्र्ति बनाउनको लागि बुधबारदेखि कुश्मामा  गुप्तेश्वर धार्मिक मेला शुरु भएको छ । भगवान शिव पार्वतीको क्रिडास्थल गुप्तेश्वर गुफाको प्रचारप्रसार र पार्वतीको जन्म गाउँ पाङलाई विश्वमा चिनाउनको लागि महायज्ञ लगाइएको हो । 

श्रीमदशिवपुराण सामुहिक तुलादान,गुप्तेश्वर विराट कोटिहोम तथा  गुप्तेश्वर धार्मिक मेलाको यहि जेठ ११ गतेसम्म संचालन हुनेछ ।

महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका छन् । उनले कालीगण्डकी नदीलाई धार्मिक नदीका रुपमा प्रचार गर्नुपर्ने बेला आएको बताए । पाङमा पार्वती माताको जन्म भएको तथ्य भएता पनि प्रचारप्रसारको अभावले ओझेलमा परेको भन्दै प्रचारप्रसारको लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताए ।

गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाका प्रनिश गरीले सिता माताको जन्म भएको जनकपुरधाम जसरी प्रचार भयो त्यहि अनुरुप पार्वती माताको जन्मथालोको प्रचार हुन नसकेको बताए । उनले धार्मिक पर्यटनको विकास गर्नको लागि नै महायज्ञको आयोजना गरेको बताए ।

जिल्लाको ऐतिहासक तथा धार्मिक महत्व बोकेको गुप्तेश्वर गुफाको प्रचारप्रसार, शिवपार्वतीको विशाल मुर्ति निर्माण र सिसी महल लगायतका भौतिक समाग्रीको निर्माणको लागि महायज्ञको आयोजना गरिएको उनले बताए । उनले मुक्तिनाथधाम, दामोदरकुण्डसम्मको सर्किटमा गुप्तेश्वर गुफालाई जोड्दै धार्मिक पर्यटनको विकास गर्न सबै लाग्नुपर्ने बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!