खोटाङमा फस्टाउँदै फुल खेती

Posted on: 16 May, 2019

चिसाङ शेर्पा | जेठ २, खोटाङ | जिल्लाको महादेवस्थानमा व्यवसायिक रुपमा पुष्प (फुल) खेती फस्टाउँदै गएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडा नं. ७ महादेवस्थानस्थित गैरीगुठ र डाडाँगुठमा प्रगतीशील पुष्प खेती समुहका २० जना महिला कृषकहरुले उत्पादन गर्दै आएको बेमौसमी पुष्प खेती दिन प्रतिदिन फस्टाउँदै गएको हो । नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्र्तगत गतवर्ष एक लाख ५० हजार आर्थिक सहयोगमा सुरुवात भएको पुष्प खेतीले मनग्गे प्रगती लिन थालेको छ ।

प्रसिद्ध त्रि–धार्मिकस्थल रहेको वडामा जिल्लामै संम्भवत पहिलो पटक सुरुवात गरिएको पुष्प खेतीवाट हप्तामा एक व्यक्तिले तीन हजार पाँच सय रुपैयाँदेखी एक घरबाट ६० थानसम्म माला उन्न पुग्ने फुल उत्पादन तथा सिजनमा फुल बेचेरै प्रतिव्यक्तिले महिनामा ५०/६० हजार आम्दानी लिने गरेको नगरपालिकाकी उप–प्रमुख बिमला राईले बताईन् । महिला दिदीबहिनीहरुले थालेको पुष्प खेती व्यवसायिक रुपमा फस्टाउँदै गएपछि प्रोत्साहन स्वरुप नगरपालिकाले चालू आर्थिक वर्षमा पनि दुई लाख बजेट बिनियोजन गरेर विभिन्न कृषि सामग्रीहरु वितरण गर्दै आएको छ ।

बेमौसमी पुष्प खेती गरिरहेका महिला कृषकहरुलाई प्रोत्साहन स्वरुप गत बुधबार मात्रै नगरपालिकाले टनेला बनाउन २० थान प्लाष्टिक वितरण गरेको छ । सोही बजेटबाट नगरले पुष्प खेती गरिरहेका उक्त समुहका कृषकहरुलाई फुलको बिउ, बिजन र पानी लगाउने हजारी वितरण गरिसकेको छ । केही मात्रामा कृषकहरुले हजारी लैजान बाँकी छ । कृषकहरुले उत्पादन गरेको फुलहरु नगरपालिकाको विभिन्न कार्यक्रम, नजिकैको धार्मिकस्थल हलेसी मन्दिर तथा बेला बेलामा जिल्ला बाहिर समेत निर्यात हुने गरेको छ । 


हाललाई कृषकले वजारको माग अनुसार फुलको माग पूरा गर्न सकेकोे र उत्पादन वढ्दै गएर बजारको अभाव भएमा फुल विक्रीका लागि वाहिरी वजारमा सम्पर्क गरिदिने नगरपालिकाका कृषि शाखा प्रमुख टिकाराम न्यौपानेले बताए । नगरपालिकाले बजारको बन्दोबस्त गर्छ कृषकले ढुक्कले फुल उत्पादन गरे हुन्छ । न्यौपानेले भने । ‘प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसीमा पूजाआजा गर्नका लागि सवैभन्दा वढी फुलको माग बढ्ने गरेको छ ।’ गाउँमै सुरुवात भएको पुष्प खेती फस्टाउँदै जाँदा वाहिरबाट फुलको निर्यात बन्द हुने र गाउँघरका महिलाहरु कृषिमा आत्मनिर्भर हुदंै जाने नगरले अपेक्षा राखेको छ । धितुङमा पनि कृषकहरु आफैले पुष्प खेतीको सुरुवात गरेको नगर प्रमुख इवन राईले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!