डोल्पामा सडक दुर्घटना बढ्दै

Posted on: 18 May, 2019

जेठ ४, डोल्पा | जिल्लामा पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएका छन् । भर्खरै खुला गरिएको कच्ची सडक सवारी चालकको लापरवाही र सुरक्षा निकायको कमजोर उपस्थितिका कारण सडक दुर्घटना बढ्दै जान थालेका हुन् ।

डोल्पा सडकको पहुँचमा पुगेसँगै अव्यवस्थित रूपमा जिल्लामा भित्रिएका मोटरसाइकल, जिप तथा ट्र्याक्टर र सिकारु चालकको लापरवाहीका कारण महीनैपिच्छे सडक दुर्घटनाको सिकार सर्वसाधारण बन्दै आएका छन् । शुक्रबार मात्र राति ८:३० बजेको समयमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरस्थित बजार लाइनमा ठुलीभेरी नगरपालिका–९ मोतीपुरका अन्दाजी २५ वर्षीय सञ्जय कठायतलाई रा१ज ५०१ नंको जिपले किच्दा कठायतको बायाँ खुट्टा काम नलाग्ने गरी भाँचिएको छ ।

त्रिपुरासुन्दरी–५ खदाङबाट यात्रु बोकेर त्रिपुराकोटतर्फ आउँदै गरेको अवस्थामा कठायतलाई किचेको प्रहरी चौकी त्रिपुराकोटका नायव निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो । घाइते कठायतको अवस्था गम्भीर भएपछि व्यापारी मिलेर राति नै उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।

चिकित्सकले जिल्लामा उपचार सम्भव नहुने बताउँदै नेपालगञ्ज सिफारिश गरिए पनि आर्थिक अभावका कारण जिल्ला अस्पताल दुनैमा नै उपचार भइरहेको छ । उपचारमा समस्या भएपछि व्यापारीले प्रत्येक व्यवसायीबाट चन्दा सङ्कलन शुरु गरेका छन् । खुट्टाबाट निरन्तर रगत बगिरहेकाले घाइते कठायतको अवस्था गम्भीर भएको त्रिपुराकोट उद्योग वाणिज्य सङ्घका प्रतिनिधि पूर्णकेशर न्यौपानेले बताउनुभयो ।

त्रिपुराकोटमा बजारीकरण बढ्दै गएसँगै सडक दुर्घटना, चोरीलगायतका घटना बढ्न थाले पनि प्रहरीले सशक्तरूपमा काम गर्न नसकेको न्यौपानेको भनाइ छ । घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै व्यापारीले त्रिपुरासुन्दरी नगरपालिका बगर बजारमा प्रदर्शन गरेका छन । 

जाजरकोटको नलगाड नगरपालिका–१२ बस्ने जिप चालक महेन्द्र विष्टलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । डोल्पा सडक सञ्जालमा जोडिएपछि दुई दर्जनभन्दा बढी सडक सवारी दुर्घटनाका घटना घटिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!