नवलपरासीमा रहेका विभिन्न स्थल प्रचारप्रसारको अभावमा ओझेलमा

Posted on: 18 May, 2019

पुरुषोत्तम सुवेदी | जेठ ४, नवलपरासी | बुद्धसँगसम्बन्धीत पश्चिम नवलपरासीमा रहेका विभिन्न स्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । पश्चिम नवलपरासीको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र सरावल गाउँपालिका क्षेत्रमा बुद्धकालीन स्थल रहेका छन् ।

आज २५६३ औँ बुद्ध जयन्तीको अवसरमा सो क्षेत्रका स्थानीय तह र विभिन्न सङ्घ संस्थाले आआफ्नो हिसाबले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पश्चिम नवलपरासीमा सबैभन्दा महत्वपूर्ण स्थल गौतमबुद्धको अष्तुधातु रहेको रामग्राम नगरपालिका–७ उजैनीमा रामग्राम स्तुप रहेको छ । यसैगरी रामग्राम नगरपालिका–१८ बन्जरियामा  गौतमबुद्धको मावलीस्थल पण्डितपुर रहेको छ । रामग्राम र पण्डितपुर दुवै स्थानमा कार्यक्रम आयोजना गरिएको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता बताउनुहुन्छ । 

यसैगरी सुनवल नगरपालिका–७ तरगौलीमा बौद्धकालीन ताल रहेको छ । बर्दघाट नगरपालिकाको जहदामा पनि बुद्धकालीन ताल छ । त्यसैगरी  सरावल गाउँपालिका–२ जावामा विश्वकै लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोलवृक्ष (रूख) रहेको छ । सो स्थलमा समेत बुद्धको मूर्ति स्थापनालगायतका कार्यक्रम आयोजना गरिएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।  

उजैनी बुद्धको अस्तुधातु रहेको विश्वकै एक मात्र स्थल मानिन्छ । यस स्थलमा वर्षौंअघि उत्खननको क्रममा विभिन्न बुद्धकालीन सामग्री फेला परेको थियो । पण्डितपुर गाउँमा गौतमबुद्धको मावलीस्थल रहेको मानिन्छ । यस ठाउँमा बुद्धकालीन इँटा, माटाका भाँडाकुँडालगायत विभिन्न भग्नावशेष भेटिएका छन् । रामग्राम र पण्डितपुर दुवै स्थलमा प्रदेश सरकारले विशेष महत्व दिएर विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्याय बताउनुहुन्छ । 

यस्तै गौतमबुद्ध मावलीस्थल पण्डितपुर मावलीमा आउँदा तरगौलीमा रहेको  तालमा स्नान गर्ने गरेको मान्यता छ । तालसँगै एउटा पुरानो बौद्धकालीन मन्दिरसमेत रहेको छ । 

यसैगरी जावामा विश्वकै लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोलवृक्ष (रूख) रहेको छ । विश्वकै लोपोन्मुख यो प्रजातिको रूख यसै क्षेत्रमा सुरक्षित छ । यो वृक्ष बुद्धकालीन युगमा जडीबुटीका रूपमा प्रयोगमा ल्याइएको भन्ने कुरा बौद्धचर्या भन्ने पुस्तकमा उल्लेख गरिएको छ ।  कोलवृक्ष भएकै कारणले पनि ऐतिहासिक जावा कोटही मन्दिर गौतमबुद्धसँग सम्बन्धित रहेको क्षेत्र मानिन्छ ।  पश्चिम नवलपरासीमा रहेको रामग्राम स्तुप, पण्डितपुर, ताल र बौद्धकालीन कोलवृक्ष क्षेत्र लगायतको संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रयाएर आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने सरोकारावालाहरुको भनाइ छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!