घुम्टेको काखमा घरबास शुरु

Posted on: 19 May, 2019

 जेठ ५, गलकोट । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास (होमस्टे) शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो ।

घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई खान, बस्नको समस्या भएका कारण घरबासको अवधारणा ल्याइएको सामुदायिक घरबासले जनाएको छ । सिद्धथान सामुदायिक घरबासको अध्यक्ष खीम गलामीले भन्नुभयो, “पहिलो चरणमा सात घरबाट घरबासको सेवा प्रदान गर्न थालेका छौँ, पाहुनाको मागअनुसार क्षमतामा वृद्धि गर्ने योजना छ ।” 

मगर समुदायको बाहुल्यता रहेको पाण्डवखानीका रमणीयस्थल, कला संस्कृति, स्थानीय खानाका परिकारलगायतले पाहुनालाई आकर्षण गरिएको गलामीले बताउनुभयो । घरबासमा आउने पाहुनालाई स्वागत सत्कारसँगै फापरको परिकार, सिस्नो, मकै, भट्ट, गुन्द्रुक, आटोलगायतका परिकारको स्वाद चखाइने घरबासका सञ्चालक बताउँछन् । 

मगर समुदायमा प्रचलित सतीघाटु, यानीमाया, सोरठी, भैचै साइलोजस्ता मौलिक संस्कृतिले पाण्डवखानी आउने पर्यटकलाई थप स्मरणीय बनाउनेछ । यहाँका तामा तथा फलामखानीका सुरुङ, जैलुन, पञ्चधर, कुरिनलगायतका रमणीय स्थान पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्नेछन् । 

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घरबासको पूर्वाधार निर्माणका लागि रु १० लाख अनुदान उपलब्ध गराएको घरबासका सञ्चालक हिमाल पुनले बताउनुभयो । पुनका अनुसार घरबासमा पहिलो चरणमा सातै घरमा तातो, चिसो पानीसहितको शौचालय र स्नान गृह निर्माण गर्न थालिएको छ । 

जिल्लाकै उच्च भागमा रहेको घुम्टेको धूरीमा रहेका सिद्धभैरव मन्दिर दर्शन तथा दर्जनौँ सेताम्मे हिमालसहितको दृश्यावलोकनका लागि पर्यटक घुम्टे पुग्ने गर्दछन् । घुम्टेमा चैत/वैशाखमा रातो र सेतो लालीगुराँसले पर्यटकलाई लोभ्याउने घुम्टेको काख पाण्डवखानीमा घरबास सञ्चालनमा ल्याइएको सञ्चालक कमला सारुमगरले बताउनुभयो । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिएकाले घुम्न आउने पर्यटकमा वृद्धि भएका कारण घरबासको आवश्यकता देखिएको हो ।

घुम्टेको चुचुरोमा मल्म, पाण्डवखानी, हिल र हरिचौर गरी चार नाकाबाट पुग्न सकिए पनि अधिकांशले पुरानो मार्ग पाण्डवखानी नै रोज्ने गरेका छन् । पाण्डवखानीबाट तीन घण्टाको पदल यात्रापछि घुम्टे पुगिन्छ ।  हाल घरबासमा एक रातमा ३५ बस्न सक्ने क्षमतामा सञ्चालन गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!