धादिङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

Posted on: 20 May, 2019

जेठ ६ धादिङ । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । 

काठमाडौँबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरु अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए । पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

धादिङको नौबिसेमा मोटरसाइकल दुर्घटनामा चालकको आइतबार राति मृत्यु भएको छ । धार्केबजारबाट नौबिसेतर्फ जाँदै गरेको बा ३५ प ९३९१ नंको मोटरसाइकललाई एउटा अर्को गाडीले ठक्कर दिएपछि धुनीबेँसी नगरपालिका–१ का ३० वर्षीय दिपेश घलानको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको पहिचान नखुलेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । 

घटनापछि बजारवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले घटना गराउने सवारी साधन खोजी गर्ने बताएपछि राजमार्ग सञ्चालन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!