अस्पताललाई बजेट माग

Posted on: 27 May, 2019

जेठ १३, तुलसीपुुर । यहाँ सञ्चालन भएका आँखा अस्पतालको विकासका लागि गुरुयोजना तयार पारी प्रदेश सरकारसँग बजेट माग गरिएको छ । प्रदेशसभाका सदस्य, राजनीतिक दल र अस्पतालका प्रशासकको टोलीले प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बरालसँग आइतबार भेट गरी अस्पतालको विकास गर्न बजेट माग गर्नुभएको हो ।  

 नेपाल नेत्रज्योति सङ्घ दाङले सङ्घद्वारा सञ्चालन भएका राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको भौतिक विकासका लागि मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीसँग भेटेर अस्पतालले तयार पारेको गुरुयोजना बारेमा जानकारी गराउनुभएको थियो । साथै दीर्घकालीन योजना पेश गरिएको सङ्घका सभापति कृष्णकुमार गिरीले जानकारी दिनुभयो ।

तीनवटै अस्पतालमा भौतिक अभावका कारण सेवा प्रवाहमा कठिनाइ भएको त्यसको सुधार र थप निर्माण कार्यका लागि बजेट माग गरिएको गिरीले जानकारी दिनुभयो । दातृ निकायको सहयोगमा सञ्चालन भएका अस्पतालमा दिन प्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएको र पूर्वाधार अभावले सेवा प्रवाहमा कठिनाइ भएकाले बजेट थप्न अनुरोध गरिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताउनुभयो ।

सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा रहेका आँखा अस्पतालले जनतालाई राम्रो सेवा प्रवाह गरेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले आँखा उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

 “सङ्घले दातृनिकायसँग सहयोग जुटाएर नेपालमा आँखा उपचार सेवा प्रवाह गरेको छ, अब प्रदेश सरकारले यो सेवालाई प्रभावकारी गराउन के सहयोग गर्न सकिन्छ त्यो हाम्रोतर्फबाट हुने छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । त्यस्तै सामाजिक विकासमन्त्री सुदर्शन बरालले आँखा अस्पतालको भौतिक विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, इन्द्रजित चौधरी, नेकपा दाङका अध्यक्ष टीकाराम खड्का, नेपाली काङ्ग्रेस दाङका सभापति कीर्तिबहादुर खड्कालगायतले आँखा अस्पतालको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!