पाँचखालमा चोरी बढ्दै

Posted on: 28 May, 2019

जेठ १४, काभ्रेपलाञ्चोक । (रासस) : पाँचखाल नगरपालिका क्षेत्रमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन् । विशेषगरी अरनिको राजमार्गअन्तर्गत पाँचखाल नपाको बजार क्षेत्रमा पार्किङ गरी राखिएका सवारीसाधनमा चोरी भएको हो ।

जेठ १२ गतेसम्म विभिन्न मितिमा रातको समयमा पाँचखाल बजार, तामाघाट र तीनपिप्ले बजारमा पार्किङ गरिएको करीब दर्जन डोजर र स्काभेटरका ब्याट्री तथा इन्धनसमेत चोरी भएको पाँचखाल प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक शिवहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ गते राति २ बजे राजमार्ग मर्मतका लागि तामाघाटमा पार्किङ गरिएको एक स्काभेटरबाट १०० लिटर तेल चोर्ने बा३ख ५५८७ नंको मालबाहक ट्रकचालक सिन्धुपाल्चोकका टीकाबहादुर श्रेष्ठलाई सिसी क्यामेरा फुटेजको सहायताले पहिचान गरी बनेपाबाट पक्राउ गरिएको छ ।

 डिजेल चोरी गर्ने श्रेष्ठलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको छ । अन्य चोरीका घटनाको अनुसन्धान भइरहेको प्रनानि पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो “तामाघाटमा हालै मात्रै सिसी क्यामेरा जडान गरिएका कारण फुटेजका आधारमा तेल चोरी गर्ने व्यक्ति पक्रन केही सहयोग पुगेको छ ।” उहाँले गत वैशाखमा पनि केही चोरीका घटना भएको उल्लेख गर्दै पाँचखालको अन्य संवेदनशील क्षेत्रमा पनि सिसी क्यामेरा जडान गर्नसके चोरीका घटना न्यूनीकरण हुँदै जाने बताउनुभयो ।

 तामाघाट बजार क्षेत्रको विभिन्न स्थानमा सिसी क्यामेरा जडानका कारण चोरीका घटना कम हुँदै गएको पाँचखाल नपा–४ का वडाध्यक्ष सुन्दर तामाङले बताउनुभयो । उहाँका अनुसार तामाघाट बजारमा सिसी क्यामेराका साथै रातिका लागि २४ स्थानमा सोलार बत्ती व्यवस्थापन गरिएको छ । तामाङले भन्नुभयो, “चोरी न्यूनीकरणका लागि पाँचखालका बजारमा सिसी क्यामेरा तथा सोलार बत्ती जडानका लागि पहल गरिरहेका छौँ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!