महिला बेचबिखनमा तीन जना पक्राउ

Posted on: 28 May, 2019

 जेठ १४, हेटौँडा ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट प्रहरी टोली, माइती नेपाल र साना हातहरु नेपालको सहयोगमा एक युवतीसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट कल्याणपुर गाउँपालिका–९ घर भई हाल भारतको कलकत्ता बस्ने २४ वर्षीया कविता भन्ने मनिका तामाङ, भारतको झारखण्ड राज्यको राँची बस्ने २६ वर्षीय अंशु साहु र सोही ठाउँ बस्ने २३ वर्षीय राजाराम महतो रहेका छन् । उनीहरुले दुई युवतीलाई प्रलोभन देखाउँदै काठमाडौँबाट वीरगञ्ज हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

मानव बेचबिखन र ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!