महोत्तरी : चर्को घाम र तातो हावाले जनजीवन प्रभावित

Posted on: 29 May, 2019

जेठ१५, महोत्तरी । पछिल्लो समयम एकाएक चर्को घाम लाग्नुको साथै तातो हावा (लू) चलेपछि महोत्तरीलगायत तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तराईका महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत जिल्लामा दिउँसोको समयमा अत्यधिक चर्को घामका साथै लू चलेका कारण सर्वसाधारण प्रभावित भएका छन् ।

चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको गौशालास्थित सिटिजन बैंकका शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अन्य महिनाको तुलनामा यो महिना बैंकमा वित्तीय कारोवारका लागि आउने सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको बताइएको छ ।

त्यस्तै तातो हावाहुरी तथा लूकै कारण आँप तथा अन्य तरकारी खेती प्रभावित भएको गौशालाका किसान लक्ष्मेश्वर महतोले बताउनुभयो । बढ्दो गर्मीका कारण खेतमा काम गर्न कामदारले जान नमानेर समेत फलफूल तथा तरकारी खेती प्रभावित हुन पुगेको उहाँले जानकारी दिनुभयो ।

तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक मनोजकुमार साहले बताउनुभयो । वैशाखयता तराईमा पानी नपर्दा गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!