कर्णाली र प्रदेश २ का लागि विशेष प्याकेज खोइ ?

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौँ | सङ्घीय समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवले अघिल्ला वर्षका तुलनामा यस पटकको बजेट सन्तुलित भए पनि कर्णाली र प्रदेश २ का लागि विशेष प्याकेज ल्याउने सन्दर्भमा चुकेको टिप्पणी गर्नुभएको छ । नेपाल सरकारले २०७६/०७७ वर्षका लागि सङ्घीय संसद्मा आज प्रस्तुत गरेको बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मुलुकलाई कृषिमा आत्मनिर्भर तुल्याउन सिँचाइ र  कृषिका लागि रकम छुट्याइएको पाइएन ।”

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले गरीबको हितका लागि नभई धनी वर्गको पृष्ठपोषण गर्ने ढङ्गबाट ल्याइएको हुँदा यो मजदुर र कामदारको पक्षमा नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “खाल्टोबाट झिकेर अल्कोमा थप्ने नीतिबाट ल्याइएको बजेटबाट केही मुठ्ठिभर व्यक्तिलाई मात्र फाइदा पुग्नेछ ।”

‘बजेटले पार्टीको घोषणापत्र समेटेको छ’

नेकपाका नेता योगेश भट्टराईले दू्रततर विकास र सामाजिक न्यायका सवाललाई सम्बोधन गर्ने ढङ्गबाट ल्याइएको बजेटले पार्टीको घोषणापत्रलाई समेटेको हुँदा अब मुलुक विकास र समृद्धिका हिसाबले सही दिशातर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजेटले सामाजिक न्यायलाई समाविष्ट गरेको छ, बालक, वृद्धा, अपाङ, ज्येष्ठ नागरिक, पिछडिएका क्षेत्रलाई बजेटले समेटेको छ, विकासका आयोजनाको लागत र गुणस्तरलाई सुनिश्चित गरेको छ ।”

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रप्रसाद यादवले मुलुकमा उद्योग धन्दाको विकासका लागि उत्पादन क्षेत्रमा सहुलीयत दिनुपर्नेमा बजेट त्यो पाटोमा असफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीले आफूलाई पपुलर गर्ने आधारले ल्याएको बजेट कार्यान्वयन हुनै सक्दैन, अर्काेबाट ऋण लिएर देश चल्न सक्दैन भन्ने कुरा मनन गर्न आवश्यकछ ।”

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले द्रूतमार्ग, पोखरा र भैरहवा विमानस्थल, मेलम्ची खानेपानीजस्ता ठूला पूर्वाधार विकासका आयोजना तोकिएकै समयभित्र पूरा गर्ने ढङ्गबाट ल्याइएको बजेटले वितीय अनुशासन कायम गरेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “धेरै शीर्षकमा बजेट विनियोजन गरेको भनी आलोचना हुन सक्ने भए पनि ठूला आयोजना सम्पन्न गर्न र ८.५ को आर्थिक वृद्धि हासिल गर्न सफल हुनेछ ।” नेपाल ग्रील उद्योग महासङ्घका अध्यक्ष मोहन कटुवालले  समग्रमा यो वर्षको बजेट सन्तुलित र उद्योगमैत्री रहेको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!