गौतमबुद्ध विमानस्थल जिटुजी अवधारणामा

Posted on: 30 May, 2019

 जेठ१६, काठमाडौँ  । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजी) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै सहकार्य गर्ने र व्यवस्थित रुपमा विमानस्थल सञ्चालन गरिरहेका सरकारी कम्पनीलाई जिम्मा दिने लक्ष्यअनुसार उक्त अवधारणा अगाडि सारिएको हो ।

 हाल ७३ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको सो विमानस्थललाई सरकारी कम्पनी वा संस्थाले नै सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयालाई सैद्धान्तिक स्वीकृति दिइएको छ । धावनमार्ग कालोपत्रे सम्पन्न भइसकेको सो विमानस्थल आगामी भदौको अन्तिम सातादेखि व्यावसायिक उडान गर्ने गरी तयारी गरिएको छ ।

 यही जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा जानकारी दिन आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि उक्त अवधारणा अगाडि सारिएको र प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो ।

 नेपाल भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरिएको छ । मन्त्री बाँस्कोटाका अनुसार नेपाली सैनिक चार्टर उडान विकास समितिलाई कायम राख्ने निर्णय मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

इदुल फित्रमा सार्वजनिक बिदा

 सरकारले मुसलमान धर्मावलम्बीको पर्व इदुल फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम आयोगको सिफारिसलाई समेत दृष्टिगत गरी यही जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नेपाल खाद्य संस्थान र नेशनल टेङिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । त्यस्तै सरकारले ‘प्रदेश तथा स्थानीय तहका लागि कूटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५’ स्वीकृत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!