हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा

Posted on: 30 May, 2019

चिसाङ शेर्पा | जेठ १६, खोटाङ | जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नो पक्की भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको झण्डै दुई वर्षपछि हलेसीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो । पक्की भवनबाट आफ्नो सेवा प्रवाह गर्नेमा हलेसी तुवाचुङ नगरपालिका तेस्रो भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटगैरामा निर्माण गरिएको भवनबाट बिहिबारदेखि कामकाज थालिएको नगर प्रमुख इवन राईले बताए ।

स्थानीय पटमराज राई, भगसेर राई, मोहनबहादुर राई र डिकसेर राईले निःशुल्क दिएको जग्गामा ७० लाखभन्दा बढिको खर्चमा एल आकारको १५ कोठे भवन निर्माण गरिएको हो । हालसम्म तत्कालिन गाबिसको कार्यालय दुर्छिमको साँघुरो भवनबाट सञ्चालन हुँदै आएको नगरपालिका नयाँ भवनमा सारेपछि सेवा प्रवाहमा सहज भएको छ । 

कार्यालय शुभारम्भका दिन डिकुवाकी कविता राईलाई ५० हजार आर्थिक सहयोग गरिएको छ । केही समयअघि घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी राईलाई उहाँको श्रीमानमार्फत सहयोग गरिएको हो । गर्भवती कविता रुखबाट लडेर घाइते भएकी थिईन् । र, महिना नपुगी जन्मिएको बच्चा पनि अस्वस्थ्य रहेकाले उपचारका लागि सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।


दुई नगरपालिका आठ गाउँपालिका रहेको खोटाङमा सवैभन्दा पहिला दिप्रुङ चुइचुम्मा गाउँपालिका र रावावेंशी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ । अन्य नगरपालिका र गाउँपालिकाले पूराना सरकारी भबन तथा भाडाका घरमा बसेर सेवा प्रवाह गरिरहेका छन् । आफ्नै भवन नहुने स्थानीय तहले पूरानो तथा साँघुरो घरहरुबाट भनेजस्तो सेवा प्रवाह दिन सकिरहेका छैनन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!