आफ्नै पसलमा चोरी गर्ने पक्राउ

Posted on: 31 May, 2019

जेठ १७, हेटौँडा । बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ । 

घिमिरेले गत जेठ ११ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट रु तीन लाख १२ हजार नगदसहित रु ३२ लाख ९३ हजार २८४ मूल्य बराबरको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सामग्री हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शङ्का लागेपछि प्रहरीले उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्दा घिमिरे स्वयंले सामान लुकाएर चोरी भयो भन्दै भ्रम फिँजाएको पाइएको छ ।

मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले बंैकको ऋण तिर्न तथा बीमा रकम प्राप्त गर्नका लागि धिमिरेले योजनाबद्धरुपमा पसलमा चोरी भयो भनी भ्रम छरेको पाइएको बताउँदै चोरी भएको भनिएको सामग्री हेटौँडा–४ पारिजातपथमा एक घरबाट बरामद गरेको जानकारी दिनुभयो । 

बंैकले रु ५० लाख ऋण तिर्नका लागि निरन्तर ताकेता गरेपछि उनले यस्तो योजना बनाएको खुल्न आएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । उनलाई आजदेखि म्याद थप गरी थप अनुसन्धान गर्ने र कानूनबमोजिम कारवाहीको तयारीसमेत गर्ने प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!