महोत्तरी : विद्यालयको तालाबन्दी खुला

Posted on: 31 May, 2019

जेठ १७, गौशाला । दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी रहेको महोत्तरीको पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माविमा आज दलित शिक्षकलाई हाजिर गराइएपछि तालाबन्दी खोलिएको छ ।

आयोग लडेर नयाँ शिक्षकका रुपमा हाजिर हुन आएका शिक्षक दिनेश दासलाई दलित भएकै कारण प्रधानाध्यापक मनोज ठाकुरले हाजिर नगराउँदा गत मङ्गलबारदेखि तालाबन्दी रहेको सो विद्यालयमा आज दलित शिक्षकलाई हाजिर गराइएसँगै तालाबन्दी खोलिएको पिपरा गाउँपालिकाकी उपाध्यक्ष नुनुवति दासले बताउनुभयो ।  

सो विद्यालयमा गणित विषयतर्फ आयोग लडेर आएका नयाँ शिक्षक दासलाई दलित भनेर त्यहाँका प्रधानाध्यापकले हाजिर नगराएपछि स्थानीयहरुले सो विद्यालयमा तालाबन्दी गरिदिएका थिए । सो विद्यालयकै रिक्त दरबन्दीमा किटान गरेर मावितर्फ गणित विषयका शिक्षकका रुपमा आउनुभएका दिनेश दासलाई त्यस विद्यालयका प्रधानाध्यापक ठाकुरले दलित भएकै कारण त्यस विद्यालयमा हाजिर हुन नदिएपछि मङ्गलबार भएको तालाबन्दीले तीन दिनसम्म सो विद्यालयको पठनपाठन ठप्प रहेको थियो । 

एक साताअघि त्यस विद्यालयमा हाजिर हुन गएका शिक्षक दासलाई प्रअ ठाकुरले हाजिर नै नगराउने भनेपछि मङ्गलबार करीब सय जनाको सङ्ख्यामा गएका स्थानीयवासीले विद्यालयमा तालाबन्दी गरेका थिए । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!