टुटल, पठाओलाई ऐनमा समेटिँदै

Posted on: 31 May, 2019

जेठ १७, काठमाडौँ । सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन । 

यातायात व्यवस्था ऐन संशोधनका क्रममा रहेकाले त्यसले टुटल र पठाओलाई पनि सम्बोधन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ती सवारीले यात्रुलाई सुविधा दिए पनि सुरक्षाका हिसाबले ढुक्क हुन नसकिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । 

उहाँका अनुसार हाल सञ्चालनमा रहेका यी दुई सेवा प्रदायक संस्थाले सुरक्षाको दाबी गरे पनि आश्वस्त हुन नसकिएकाले कानून बनाउन लागिएको हो । दुर्घटनाको क्षतिपूर्ति, यात्रुको बीमालगायतका विषय ऐनले समेट्ने उहाँले जानकारी दिनुभयो । 

“अहिले छिटो गन्तव्यमा पु¥याउने भएकाले लोकप्रिय साधन बनिरहेको छ”, उहाँले भन्नुभयो, “ऐनले नै यात्रुको सुरक्षाका केही आधार बनाएपछि त्यसकै आधारमा सरकारले नियमन गर्न सक्छ ।” नेपालमा रातो नम्बर प्लेटका र दुईपाङ्ग्रे सवारी साधनले सार्वजनिक सवारीले जसरी भाडा लिएर यात्रु बोक्न नमिल्ने भन्दै केही समय पहिले मन्त्रालयले रोक लगाएको थियो । 

केही महीना पहिले ट्राफिक प्रहरीले विभिन्न स्थानमा छड्के जाँच र कारवाही थाले पनि अहिले ती सवारी नियमित सञ्चालनमा छन् । धेरैले ती सेवा प्रदायकलाई बन्द नगरी नियमन गर्नुपर्ने बताउँदै आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!