ललितपुरमा पानी बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on: 03 Jun, 2019

जेठ २०, काठमाडौँ । ललितपुरको गोदावारी नगरपालिका–१४ थैवमा पानी बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

बा२ख ७३५४ नंको ट्याङकरले बा५०प ३६७१ नं को मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक सोही ठाउँका ४० वर्षीय शिवरत्न शाहीको मेडिसिटी अस्पताल नख्खुमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ट्याङ्कर चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ । 

गाँजा खेती नष्ट 

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका विभिन्न ठाउँमा लगाइएको गाँजाखेती आज प्रहरीले नष्ट गरेको छ । झण्डै एक हजार २०० रोपनीमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो । 

हवाई सुरक्षा थप प्रभावकारी बनाइने

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट प्रतिपादित मापदण्डअनुसार नेपालको हवाई सुरक्षालाई थप प्रभावकारी बनाइने भएको छ । 

सङ्गठनको मापदण्ड, सिफारिस, निर्देशिका तथा नागरिक उड्डयनसम्बन्धी ऐन, नियम तथा राष्ट्रिय नागरिक उड्डयन सुरक्षाका प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सम्झौता भएको हो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेलले हवाई सुरक्षासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्नुभएको हो ।

प्राधिकरणका हवाई सुरक्षा निर्देशक देवचन्द्रलाल कर्णले विश्वका सम्पूर्ण हवाई क्षेत्रको नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनद्वारा प्रतिपादित कानून सबै सदस्य राष्ट्रले अवलम्बन गर्नुपर्ने जानकारी दिनुभयो । उहाँले नेपालका सबै विमानस्थलको सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी र प्राधिकरणबीच भएको समझदारीले सबै विमानस्थलको सुरक्षा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!