तेह्र जना लिएर उडेको भारतीय विमान सम्पर्कविहीन

Posted on: 03 Jun, 2019

जेठ २०, गुवाहाटी । भारतीय उत्तरपूवी राज्य आसामको जोरहातबाट चालकदलका सदस्यसहित १३ यात्रु लिएर सोमबार विहान उडेको भारतीय सैनिक विमान सम्पर्कविहीन भएको यहाँको रक्षा मन्त्रालयले बताएको छ ।

रूसमा बनेको एन्टोनोभ एएन–३२ विमान जोरहातबाट दिउसो १२ः२५ मा अरूणाञ्चल प्रदेशको मेचुकातर्फ उडेको मन्त्रालयले जनाएको छ ।

“विमानले पछिल्लो पटक दिउसो १ बजे विमानस्थलसँग सम्पर्क गरेको तर त्यसपछि सम्पर्कविहीन रहेकोछ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विमानमा चालकदलका आठ सदस्य र पाँच यात्रु रहेको मन्त्रालयको विज्ञप्तिमा जानकारी गराइएको छ । 

सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्नेल पी खोङसाईले सम्पर्कविहीन विमानलाई पत्ता लगाउन सम्भावित सवै उपायको अवलम्वन गरी खोजी जारी रहेको बताउनुभयो ।

विमान हराएको घण्टौँ वित्दासमेत विमान, चालक दलका सदस्य र यात्रुबारे कुनै सूचना नपाएपछि विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । विमान दुर्घटनाग्रस्त भएको हो वा अन्य कुनै समस्याका कारण सम्पर्कमा आउन नसकेको भन्नेबारे प्रष्ट जानकारी आइसकेको छैन । रासस/एएफपी

भारतको तापक्रम अत्यधिक उच्च

चुरु, भारत, २० जेठ (रासस÷एएफपी) ः भारतको सुख्खा क्षेत्रमा पर्ने शहरको तापक्रम ५० डिग्री सेल्सीयस पुगेको छ ।

  पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

देशको राजस्थान प्रदेशमा पर्ने चुरुको तापक्रम ५०.३ डिग्री सेल्सीयस पुगेको समाचारमा जनाइएको छ ।

यसअघि गत शनिबार ५०.६ डिग्री सेल्सीयस पुगेको थियो । यो देशकै सवैभन्दा उच्च तापक्रमको नजिक पुगेको हो । 

भारतमा सन् २०१६ को मे महिनामा सर्वाधिक तापक्रम ५१ डिग्री सेल्सीयस मापन गरिएको अधिकारीहरुले जनाएका छन् । त्यतिबेला सर्वाधिक तापक्रम राजस्थानको फलोडी सहरमा मापन गरिएको हो । 

अत्यधिक तापक्रमका कारण गत आइतबार राजस्थानकै सिकर जिल्लामा एक जना किसानको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ । अरुको पनि मृत्यु भएको दावी गरिएको छ । 

भारतीय मौसम विभागले राजस्थान र मध्य प्रदेशमा धेरै दिनदेखि तापक्रम उच्च हुँदै आएको र यो अझै लगातार हुने जनाएको छ । नजिकैको प्रदेशहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा समेत उच्च तापक्रमको प्रभाव पर्ने देखिएको अधिकारीहरुको भनाई छ । नयाँ दिल्लीमा सोमबार झण्डै ४० डिग्री तापक्रम महशुस गरिएको छ । 

“यो साच्चै अति उच्च तापक्रम हो, तर हामीले के गर्न सक्छौँ र ? आफ्नो काम गरिरहनु पर्छ,” एक स्थानीय लक्ष्मी जगदीशले भने ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!